पोखरा उद्योग वाणिज्य संघको ३५औं अधिवेशन: पोखरेलको नेतृत्वमा चुनावी प्यानल घोषणा

पोखरा । नीजि क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३५औं अधिवेशन आगामी भदौ २७ र २८ गते हुँदैछ।पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका छन् ।
पोखरेलसँगै उनको टिमबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, बाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र उपमहासचिवमा बालकृष्ण कोइरालाले उमेद्वारी घोषणा गरेका छन् ।
यसअघि गोकर्णको टिमबाट वरिष्ठ उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा दिनेशचन्द्र बास्तोला र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठको नाम चर्चामा थियो । तर ती सबैलाई समेटर अर्जुनले टिम घोषणा गरेका हुन् ।

पोखरेल ३४औं अधिवेशनमा अध्यक्षमा पराजित उम्मेदवार हुन् भने यसअघिउनी सदस्य, उपमहासचिव, महासचिव वाणिज्य तर्फको उपाध्यक्ष भएर काम गरिसकेका छन्।
उम्मेदवार पोखरेलले अध्यक्षको उम्मेदवारी घोषणा गर्दै केहि प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
पोखरा उद्योग वाणिज्य संघको ७०औं अधिवेशन तथा ३५ औं महाधिवेशनमा प्रतिबद्धता पत्र :
गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरा । यो शहरलाई जिवन्त शहर र आर्थिक केन्द्रको रुपमा व्यवस्थित बनाउन पोखरा उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण छ । जसलाई शिरोधार्य गर्दै इमानदार व्यवसायीहरुको समूहसहित पोखरा उद्योग बाणिज्य संघको यही भदौ २८ र २९ गते हुने ३५ औं महाधिवेशनका लागि हामी सर्वसम्मत सहमतिका साथ तपाइहरु समक्ष प्रस्तुत भएका छौं । आशा छ, यहाँहरुको सकरात्मक समर्थन सहित संघलाई अगाडि बढाउन रचनात्मक सुझाव र विचार मिल्नेछ ।
आज व्यवसायीहरु आफ्ना व्यवसायलाई निरन्तरता दिन पाइरहेका छैनन् । घरभाडा, तलब, ब्याज, कर तिर्नऋण लिनुपर्ने अवस्था छ । व्यापार, व्यवसाय, कारोबार गिर्दो छ । तिर्नुपर्ने दायित्वहरु यथावत छन् । जसलाई मिलाउनुपर्ने आवश्यकता छ । कृषि कर्ममा लागेकाहरुलाई लागत उठाउन गाह्रो परिरहेको बेला राहत उपलब्ध गराउनु छ । फलफूल लगायत कृषि उत्पादनमा बिचौलियाको हाबीलाई समाधान गर्नुछ ।
घरधनी आफ्नो पसल, कवल, कोठाहरु भाडामा नगएर समस्यामा छन् । व्यवसायीबाट पसल, कवलको बहाल पाउन गाह्रो छ । यस्ता आर्थिक दुष्चक्र नहटाई सुधार नहुने भएकाले पोखरा उद्योग बाणिज्य संघले सशक्त भएर आफ्ना गतिविधि चलाउन जरुरी छ ।
पोखराका व्यवसायी अन्य क्षेत्रभन्दा बढी मारमा परेका छन् । के उद्योग ? के बाणिज्य ? के पर्यटन ? के कृषि ? सबै क्षेत्र आक्रान्त छ । अन्तर्राष्ट्रिय विमानस्थल संचालन भएपछि पोखराले ठूलो आर्थिक अवसर पाउने आशाझन् कमजोर भएको छ । दुवै राजमार्ग जिर्ण भई निर्माणमा ढिलाई भएका कारण यातायात व्यवसायीहरु समस्यामा छन्, सर्वसाधारण मर्कामा छन् । जसको असर पोखराको पर्यटन लगायत अन्य व्यवसायमा परिरहेको छ । यस्ता सबै चुनौतिलाई समाधान गर्न पोखरा उद्योग बाणिज्य संघले नेतृत्वदायी भूमिका खेल्नुछ।संघ प्रति घट्दै गएको व्यवसायीको मनोबल बढाउनुछ । ऋण तिर्न नसकेर थला र कालो सूचीमा परेका व्यवसायीहरुको समस्याको निराकरण गर्नुछ ।
बैंक र सरकारलाई आवश्यक परे ऋण ब्याजमा छुट पाउने विषयमा सशक्त आवज उठाउनु छ। पुरानो संस्थाको नाताले यहाँ रहेका सबै अन्य संस्थालाई संरक्षण सहित समन्वय गरी अगाडि बढ्नुपर्नेछ । पोखरा उद्योग बाणिज्य संघले पोखरेली जनताको साझा संस्था बनाउनु छ ।
सबैभन्दा ठुलो चाँसो र चिन्ता :
१. सबैभन्दा पुरानो संस्थाको प्रभावकारिता कम हुँदै गएकोमा
२. व्यवसायीहरुको गुनासो सम्बोधन गर्न नसकेकोमा
३. आर्थिक मन्दीको अवस्थामा पोखराका व्यवसायीहरुको धारणा, माग र सुझाव सरकार समक्ष प्रभावकारीरुपमा राख्न नसकेकोमा
४. पोखराको समग्र विकासमा सरकारले ध्यान नदिँदा संघले जोडदार आवाज उठाउन नसकेकोमा
५. उद्यमशिलताको विकास गरी युवालाई स्वरोजगार बनाउन उद्धत्त नभएकोमा
पोखरा उद्योग बाणिज्य संघको साख जोगाउन म चिन्तित छु । त्यसैले त यही मनसायले फेरि नेतृत्वका लागि निर्वाचनमा होमिएको छु। गत निर्वाचनमा खेप्नुपरेको पराजयले पाठ सिकाएको छ । यसपाली व्यवसायीहरुको पीरमर्कालाई कम गर्ने उद्देश्य सहित तपाईहरु समक्ष साथीहरु सहित आएको छु ।
आर्थिक संकट बेहोरेका हाम्रा व्यवसायीहरुलाई संकटबाट मुक्त गर्न, बढ्दै गएको कालोसूचीबाट हटाउन, सहजरुपमा पुनतार्लिका मिलाउन, सरकारी निर्णयहरुलाई परिमार्जन गर्न, संघको छवीलाई उठाउन, हरेक मञ्चर कार्यक्रमहरुमा व्यवसायीहरुको गुनासो र सुझावलाई व्यक्त गर्न, व्यवसायीलाई नयाँ परिवेशमा काम गर्नेवातावरण बनाउन, कसैबाट नहेपिने गरी आवाज उठाउन, तीनै तहका सरकारसँग समन्वय गरी काम गर्ने वातावरण मिलाउन र पोखरामा विकासका गतिविधि बढाउन, सबै अग्रजहरुको रायसुझावलाई शिरोधार्य गर्दै विगतको अनुभवलाई उपयोग गर्दै पोखराका व्यवसायीहरुको मनोबल उच्च राख्न हामी प्रतिबद्ध छौं ।
हामी स्वच्छ व्यवसायमा विश्वास राख्छौं भन्ने अभिप्राय आम समुदायलाई प्रवाहित गर्न तत्पर छौं । सम्पूर्ण व्यवसायीहरुको भावनालाई आत्मसात गर्दै आर्थिक रुपमा पोखरालाई चलायमान बनाउन दिलोज्यान भएर लाग्ने प्रण गर्दछौं । धन्यवाद !!!

