1Shares

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ।

समापन समारोहमा गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीले स्थानीय तहबाट खेल क्षेत्रमा भएको लगानी र सक्रियताले अनुशासन, आत्मविश्वास तथा राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूले एथलेटिक्स, दौड, जम्प लगायतका विधाहरूमा सहभागिता जनाउँदै उत्कृष्ट प्रतिस्पर्धा गरेका थिए।

यस वर्षको प्रतियोगितामा श्री प्रगतिशील मा.वि., सल्यानले ११ स्वर्ण, ३ रजत र ३ कांस्य पदक प्राप्त गर्दै समग्रतामा प्रथम स्थान हासिल गरेको छ। त्यस्तै श्री मर्निङ स्टार मा.वि.ले ६ स्वर्ण, ३ रजत र ४ कांस्यसहित द्वितीय स्थान हात पारेको छ।

श्री बिरेठाँटी मा.वि.ले ५ स्वर्ण, ४ रजत र ५ कांस्य पदक जित्दै तृतीय स्थान हासिल गरेको छ भने श्री उमा मा.वि., मोहोरियाले ४ स्वर्ण, ४ रजत र २ कांस्य पदक प्राप्त गरी चौथो स्थानमा रह्यो। प्रतियोगितामा विजयी भएका सबै विद्यार्थी तथा सहभागी विद्यालयहरूलाई अन्नपूर्ण गाउँपालिकाले विशेष सम्मान तथा बधाई ज्ञापन गरेको छ।

समापन समारोहमा गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, प्रवक्ता भरतमान गुरुङसहित सबै वडा अध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

अतिथिहरूले खेलकुदले शिक्षा र स्वास्थ्य दुवैलाई सुदृढ बनाउँदै स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने उल्लेख गर्दै आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित र विस्तारित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतियोगितालाई सफल बनाउन निरन्तर सक्रिय रहेका जनप्रतिनिधि, शिक्षक, प्रशासनिक कर्मचारी, अफिसियल रेफ्री, विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीयवासीप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
प्रतियोगिताको उद्घाटन मंसिर ४ गते गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका थिए।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected