
पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कास्की जिल्ला अधिवेशनको आइतबार पोखरामा उद्घाटन गर्दै नेता कोइरालाले लोकतन्त्रमा विषम परिस्थिति सिर्जना हुन ठूलो द्वन्द्व वा असाधारण घटना हुनुपर्ने बताए।
‘नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी हो। लोकतन्त्रको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्छ। कांग्रेसलाई चुनाव हराउने कांग्रेस नै हो, अरू कसैले सक्दैन,’ उनले भने।
कांग्रेस एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै उनले चुनावपछि मात्रै अन्य दलसँग गठबन्धन गर्न सकिने, तर चुनावमा भने कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने धारणा राखे।

कांग्रेसका अर्का नेता प्रकाशशरण महतले पार्टीले विगतमा धेरै आरोह–अवरोह र कठिन परिस्थितिको सामना गर्दै आएको उल्लेख गर्दै पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए। ‘पार्टी एक हुनुपर्छ भनेर अन्तिम समयसम्म प्रयास गर्यौँ। तर गगनले पार्टीलाई फुटाएर हिँडे,’ उनले भने।
महतले अदालतले विशेष महाधिवेशन त्रुटिपूर्ण रहेको भन्दै आएको दाबी गर्दै विशेष महाधिवेशनमा सहभागीलाई नियमित महाधिवेशनमा सहभागी गराएर पदाधिकारी घोषणा गर्ने काम कानुनविपरीत भएको जिकिर गरे। पार्टीभित्रको विवाद राजनीतिक रूपमा समाधान गर्न नसके अदालतको फैसला स्वीकार गर्नुपर्ने उनको भनाइ थियो।
उनले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा आफूहरू जुटिरहेको जानकारी दिए। महतले प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्ने व्यक्तिहरूले नै कांग्रेसलाई पनि निर्वाचनमा जिताउनुपर्ने भन्दै कांग्रेसको कमजोर चुनावी परिणामप्रति चिन्ता व्यक्त गरे।
‘यो देशलाई कमजोर बनाउने सर्तमा हामी कुनै पद लिन चाहँदैनौँ। देशको विरुद्ध सम्झौता गर्दैनौँ। कांग्रेसमा जोडिएका हामी देशलाई कमजोर बनाउने पक्षमा छैनौँ,’ उनले भने।
नेपाली कांग्रेसका पूर्वमन्त्री शंकर भण्डारीले देश संकटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै १५औँ नियमित महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्ने बताए। कांग्रेसले आफूलाई बलियो बनाउन हरेक नेपाली जनताको घरदैलोमा पुग्नुपर्ने र जनताका सुख–दुःखमा साथ दिनुपर्नेमा उनले जोड दिए।
त्यस्तै, कांग्रेस नेता गुरु बरालले राजनीति अप्ठ्यारो अवस्थामा पुगेका बेला कांग्रेस एकजुट भएर देशका समस्या समाधानमा लाग्नुपर्ने बताए। लोकतन्त्रमाथि मडारिएको कालो बादल हटाउन कांग्रेस एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।

नेता कुन्दन काफ्लेले जेन्जी आन्दोलनको एजेन्डा कांग्रेसको पनि एजेन्डा भएको उल्लेख गर्दै आन्दोलनका नाममा राज्यका संरचना ध्वस्त पार्न नहुने बताए। ‘आन्दोलनका एजेन्डा सम्बोधन हुनुपर्छ, तर आन्दोलनका नाममा राज्यका संरचना ध्वस्त पार्नु हुँदैनथ्यो,’ उनले भने।
नेपाली कांग्रेसका पूर्वमन्त्री महादेव गुरुङले कांग्रेसलाई एक बनाएर अघि बढाउनुको विकल्प नरहेको बताए। नेता सोवियतबहादुर अधिकारीले लामो विरासत बोकेको कांग्रेस पार्टीले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्ने उल्लेख गर्दै जनताका मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने धारणा राखे।
त्यस्तै, नेता नवराज गुरुङले कांग्रेस राणाकालदेखि नै आन्दोलन गर्दै आएको पार्टी भएको स्मरण गराउँदै कांग्रेसमाथि हुने आक्रमणविरुद्ध डटेर लड्नुपर्ने बताए। स्याङ्जाका कांग्रेस नेता कुमार रानाले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका नेता आईबहादुर गुरुङ, नेपाल विधार्थी संघका मनोनीत केन्द्रीय अध्यक्ष नेतृ सिर्जना मल्ल, विकास लामा, आनन्द सुवेदी, राजेन्द्रनिधि कोइरालालगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।
सो अवसरमा कांग्रेस पार्टीको इतिहासका विभिन्न कालखण्डमा योगदान पुर्याउने अग्रज नेताहरू निलकण्ठ शर्मा, राजेन्द्र निधि कोइराला, सुन्दर विजय कोइराला, पुष्पेन्द्र मान श्रेष्ठ, शंकर देवकोटा र बिन्दु सुवेदीलगायतलाई सम्मान गरिएको थियो।
नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कास्की जिल्ला अधिवेशन संयोजक ऋषि काफलेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोह सचिव सुरेन्द्र शर्माले संचालन गरेका थिए ।











