0Shares

शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष सम्मान गरिने

पोखरा । उद्योगी एवं सामाजिक व्यक्तित्व गोविन्द कर्माचार्य र उनकी धर्मपत्नी बिमला कर्माचार्यले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्न वार्षिक एक लाख ५१ हजार रुपैयाँ राशिको सामाजिक सेवा पुरस्कार स्थापना गर्ने घोषणा गरेका छन्।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट बैठकको अवसरमा लेखनाथमा आयोजित कार्यक्रममा गोविन्द कर्माचार्यले पुरस्कार स्थापनाको घोषणा गरेका हुन्। समाजमा निःस्वार्थ भावले सेवा गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वको पहिचान, प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गर्न लागिएको उनले बताए।

कर्माचार्यका अनुसार प्रत्येक वर्ष एक लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको वार्षिक कार्यक्रमसँग जोडेर शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष  वर्षमा एकपटक एक जनालाई उपयुक्त अवसरमा पुरस्कार वितरण गरिनेछ।

समाजको हितमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने व्यक्तिहरूको योगदानको उचित मूल्यांकन र सम्मान हुनुपर्ने मान्यताका साथ पुरस्कार स्थापना गर्न लागिएको हो। सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई प्रोत्साहन गर्दा समाजमा सेवाभावको विकास हुनुका साथै नयाँ पुस्तासमेत सामाजिक कार्यमा आकर्षित हुने विश्वास गरिएको छ।

पुरस्कार वितरणलाई को कसले कसरी वितरण गर्ने, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक कार्यविधि निर्माणको जिम्मेवारी लायन्स क्लब अफ लेखनाथका वर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरूलाई दिइएको छ।

कार्यविधिमा पुरस्कारका लागि आवश्यक योग्यता, छनोटका आधार, मूल्यांकन प्रक्रिया तथा पुरस्कार वितरणसम्बन्धी व्यवस्था समेटिनेछ। शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा वास्तविक योगदान पुर्‍याएका योग्य व्यक्तित्वको पहिचान गरी निष्पक्ष रूपमा सम्मान गर्ने उद्देश्य राखिएको छ।

कर्मचार्यले पोखराभ्यूजसँगको छोटो कुराक़ानीमा भने-‘समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने धेरै व्यक्ति प्रचारप्रसार र चर्चाभन्दा टाढा रहेर निरन्तर सेवामा सक्रिय छन्। उनीहरूको योगदानको पहिचान र सम्मान गर्ने परम्परा विकास गर्न यस पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। वार्षिक रूपमा पुरस्कार प्रदान गर्ने घोषणाले सामाजिक सेवामा समर्पित व्यक्तिहरूलाई निरन्तर काम गर्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।’

पोखराको प्रतिष्ठित व्यावसायिक घराना कर्माचार्य हाउसका सञ्चालक गोविन्द कर्माचार्य उद्योग, व्यापार तथा सामाजिक क्षेत्रमा परिचित व्यक्तित्व हुन्। उनी लायन्स क्लब अफ लेखनाथका पूर्व अध्यक्षसमेत हुन्।

कर्माचार्य अधिकृत विक्रेता संघका संस्थापक अध्यक्ष तथा नेपाल वितरक महासंघका पूर्व अध्यक्षसमेत रहिसकेका छन्। व्यावसायिक क्षेत्रका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कर्माचार्य सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्।

व्यावसायिक सफलतालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै समाजका लागि योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले कर्माचार्य दम्पतीले पुरस्कार स्थापना गर्ने घोषणा गरेका हुन्।

वार्षिक एक लाख ५१ हजार रुपैयाँ राशिको यस पुरस्कारले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील व्यक्तिहरूको योगदानको कदर गर्नुका साथै सामाजिक उत्तरदायित्व र सेवाभावको संस्कृतिलाई संस्थागत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected