२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

कांग्रेसको छवि नेताकार्यकर्ताको व्यवहारबाटै बन्ने हो : महामन्त्री पौडेल

नागरिकसँग जिम्मेवार, मर्यादित र जनमैत्री व्यवहार गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन

पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको व्यवहारले नै कांग्रेसको समग्र छवि निर्धारण गर्ने बताएका छन्।

पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरूले नागरिकसँग गर्ने व्यवहार राम्रो हुन नसके त्यसको प्रत्यक्ष असर पार्टीको प्रतिष्ठा र लोकप्रियतामा पर्ने उल्लेख गर्दै उनले समाजमा कांग्रेसप्रति सकारात्मक सन्देश प्रवाह हुने गरी प्रस्तुत हुन निर्देशन दिएका हुन्।

नेपाली कांग्रेस कास्की प्रतिनिधिसभा क्षेत्र नं. २ को पदहस्तान्तरण, पदस्थापना, शपथ तथा सम्मान ग्रहण समारोहलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले पार्टीको जिम्मेवारीलाई पद र प्रतिष्ठाका रूपमा मात्र नभई नागरिकप्रतिको दायित्वका रूपमा बुझ्नुपर्ने बताए।

‘हामीसँग सार्वजनिक पद छैन भन्ने होइन, चार वर्षका लागि निर्वाचित भएर जानुभएको तपाईंहरूको पद नै सार्वजनिक पद हो,’ उनले भने। निर्वाचित भएर आएका पदाधिकारीहरू नागरिकप्रति उत्तरदायी हुनुपर्ने र आफ्नो व्यवहार तथा कार्यशैलीबाट पार्टीको गरिमा बढाउनुपर्ने उनको भनाइ थियो।

पौडेलले पार्टीको जिम्मेवारी पाएका र नपाएका सबै नेता–कार्यकर्तालाई समान रूपमा संगठन निर्माणमा जुट्न आग्रह गरे। व्यक्तिगत स्वार्थभन्दा पार्टीको हित र संगठनको मजबुतीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले सबैलाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिए।

उनले कांग्रेस सभापति गगनकुमार थापामाथि लगाइएको मिथ्या आरोपको निष्पक्ष छानबिन गर्नसमेत माग गरे। आरोपका विषयमा सत्यतथ्य सार्वजनिक हुनुपर्ने उनको भनाइ थियो।

वर्तमान सरकारसँग नागरिकका अपेक्षा धेरै रहेको उल्लेख गर्दै महामन्त्री पौडेलले जनहितलाई केन्द्रमा राखेर काम गर्न सरकारलाई सुझाव दिए। झण्डै दुई तिहाइको समर्थन प्राप्त सरकारप्रति नागरिकको ठूलो आशा रहेकाले जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्ने उनले बताए।

नागरिकसँग प्रत्यक्ष जोडिएका मुद्दामा सरकारले प्रभावकारी कदम चाल्दा नेपाली कांग्रेसले बाहिरै बसेर सकारात्मक सहयोग गर्ने उनको प्रतिबद्धता थियो।

‘नागरिकसँग जोडिएका मुद्दाका विषयमा सरकारले कदम चाल्न सकोस्, हामी बाहिरै बसेर सहयोग गर्न तयार छौँ,’ उनले भने, ‘शासन विधिको हुनुपर्छ, संविधानभन्दा माथि हामी कोही छैनौँ। संविधानको कार्यान्वयनमा जोड दिऔँ, कांग्रेस पनि यही चाहन्छ।’

कार्यक्रममा महामन्त्री पौडेलले नवनिर्वाचित क्षेत्रीय पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। नवनिर्वाचित क्षेत्रीय सभापति नवीन बरालले प्रतिबद्धता मन्तव्य राख्दै संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

निवर्तमान सभापति केशर निर्दोषीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन निवर्तमान सचिव देवकृष्ण पराजुलीले गरेका थिए भने निवर्तमान क्षेत्र २ प्रदेश ख का सभापति दीपेन्द्र मर्सानीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापना, शपथ ग्रहण तथा सम्मान गरिएको थियो।

Read more

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…