
दमौली, वैशाख १७ । दमौली स्थित सत्यवती माध्यामिक विद्यालय दमौलीमा पहिलो पटक महिला प्रधानाध्यापकमा नियुक्त भएकी छन् ।
सोही विद्यालयमा माध्यामिक तहमा कार्यरत शिक्षिका पुष्पकला भट्टराईलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा चयन गरेपछि महिलाले पहिलो पटक प्रधानाध्यापक बन्ने अवसर मिलेको हो ।
विद्यालयका निर्बतमान प्रधानाध्यापक एकबहादुर गुरुङको वैशाख १५ गते कार्य अवधि समाप्त भएपछि समितिले भट्टराईलाई सिफारिस गरेको हो । वि.स. २०३३ सालमा स्थापना भएको यस विद्यालयले स्थापना भएको ४७ वर्ष पछि महिलाले जिम्मेवारी दिँदा खुसी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले बताए ।
नवनियुक्त प्रधानाध्यापक भट्टराईलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, व्यास नगरपालिका वडा नम्बर २ का वडा सदस्य सुरेश वाग्ले, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल, लगायतले पदस्थापन गराए । सो अवसरमा भट्टराईले सत्यवतीको गरिमा उच्च राख्ने गरी काम गर्ने बताइन् । पदस्थापन कार्यक्रममा विद्यालयका निबर्तमान प्रधानाध्यापक एकबहादुर गुरुङलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा पूर्व प्रअ इन्द्रप्रसाद पौडेल लगायतले सफल कार्यकालको कामना व्यक्त गरेका थिए ।











