
पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ।
यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ। यस दिन बिहानै कागलाई मीठा परिकार खान दिएर काकबलि चढाउने धार्मिक चलन रहेको छ।
त्यस्तै, आयुर्वेदका प्रवर्तक एवं देवताका चिकित्सक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदैछ। यस अवसरमा आयुर्वेद चिकित्सा क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना गरी जयन्ती मनाउने गरिन्छ।
तर, यस वर्ष तिथिको घटबढका कारण धन्वन्तरी जयन्ती हिजो अर्थात् कात्तिक २० गतेदेखि नै सुरु भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार धन्वन्तरी जयन्तीको तिथि आज शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।











