
पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले शनिबार वृक्षरोपण तथा गोडमेल कार्यक्रम गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालदेखि पश्चिमपट्टिको खाली क्षेत्रमा वृक्षरोपण भएको हो ।
अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले गुलमोरको बिरुवा रोपी वृक्षरोपण उद्घाटन गर्दै सौन्दर्यताका लागि क्लबले गरेको कामको प्रशंसा गरे । उनले बिरुवा रोप्नुभन्दा पनि स्याहारसंभारमा जोड दिए । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्यको अध्यक्षता भएको कार्यक्रममा इन्भारमेन्ट डिष्ट्रिक्ट को–अर्डिनेटर सुदीपराज ढुंगाना, जोन १५ का जोन चेयरपर्सन रुकबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक सूर्यप्रसाद पोखरेलले स्वागत तथा सचिव दीपकप्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा विभिन्न प्रजातिका करिब २५ थान बिरुवा रोपिएको थियो । गत साल रोपिएको बिरुवा संरक्षणका लागि गोडमेल गरिएको थियो । क्लबले ६ वर्षदेखि नियमितरुपमा सो क्षेत्रमा वृक्षरोपण गर्दै बिरुवा संरक्षण गर्दै आएको क्लब अध्यक्ष आचार्यले बताए ।











