
पोखरा भ्यूज
१२ भदौ, काठमाडौँ । शैक्षिक प्रमाण पत्रमा भएको नाम, उमेर र जात सच्याउन पाँच वर्षको अवधि कायम गरिएको छ । गृहमन्त्रालयले सोमबार एक सूचना जारी गरी उक्त व्यवस्था लागू भएको जानकारी दिएको हो । यस अघि कुनै शैक्षिक प्रमाण पत्रमा गल्ती भए ६ महिना भित्र सच्याउनका लागि निवेदन दिनुपर्ने व्यवस्था थियो ।
मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८० केही दिन अघि मात्र पारित गरेको थियो । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा विद्यार्थीहरू मर्कामा परेका थिए ।
शैक्षिक प्रमाणपत्र सच्याउने वाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एकवर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्ने पनि गृहको सूचनामा उल्लेख छ । कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिईसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकता सम्बन्धी प्रचलित कानुन बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकको लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्ने व्यवस्था संशोधित नियममा उल्लेख छ ।
तर कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुनु अघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन पाँच वर्षभन्दा पुरानो कुनै व्यक्तिले पनि एक पटकको लागि यो उपनियम प्रारम्भ भएको एक वर्ष भित्र दरखास्त दिन सक्नेछ व्यवस्था गरिएको छ । त्यसैगरी नागरिकता सच्चाएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्चाउन दरखास्त दिन पाउने गरी परिमार्जित गरिएको छ ।











