
पोखरा भ्यूज
नवलपूर । सत्तापक्षीय गठबन्धन राष्ट्रिय सभाका उम्मेदवारले नवलपुरमा मतदाता भेटघाट गरेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) र पदमबहादुर परियार(तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) लाई उम्मेदवारका रुपमा अघि सार्दै आफ्ना चुनावी गतिविधि बढाएको हो ।
मंगलवार नवलपुरमा आयोजित कार्यक्रममा वक्ताहरूले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान प्रदत्त सार्वभौम जनताको अधिकारलाई मजवुद बनाउँदै मुलुकलाई समृद्धिको यात्रामा हिडाउनु सत्ता पक्षीय गठबन्धनमा आवद्ध राजनीतिक दलको मुख्य उद्देश्य भएको बताएका थिए ।
नेपाली काँग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले संविधानको रक्षाका साथै देशको समृद्धिका सत्तापक्षीय गठबन्धन एक भएको बताए ।
कार्यक्रममा सत्तापक्षीय गठबन्धनका उम्मेदवार सहित नेकपा एकिकृत समाजवादीका शालिकराम भट्टराई, नेकपा माओवादी केन्द्रका जगन्नाथ खनाल लगायतले मन्तव्य राखेको चुनावी अभियानमा संलग्न नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला’मधु’ ले जानकारी दिए ।
निर्वाचन प्रचारप्रसार समितिले आजदेखि सुरु गरेको मतदाता भेटघाट कार्यक्रम अन्तर्गत आगामी ९ गतेसम्म प्रदेश भित्रका जिल्लामा पुग्ने गरी तय भएको नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार विभागका उपपप्रमुख शिरोमणि बरालले जानकारी दिए । उनका अनुसार भोलि उम्मेदवारहरूले गोरखाका मतदाता भेट्ने कार्यक्रम रहेको छ ।











