
पोखरा । चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजक विष्णुपादुका क्लवले शनिवार आज पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
क्लव अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै मिली महोत्सव सफल बनाउनुपर्ने बताए । उनले महोत्सवलाई कृषि, पयर्टन तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिएको स्पष्ट पारे ।
क्लव सचिव एवं मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले विशुद्ध हेमजावासीको महोत्सवका रुपमा राष्ट्रिय हेमजा आलु महोत्सवलाई चिनाउँदै त्यससँग हेमजाको पहिचान जोडिएको बताए । उनले यस वर्षको महोत्सव मार्फत बचत हुन आउने रकमबाट क्लवको बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य राखिएको स्पष्ट पार्दै हेमजालाई देश विदेशमा चिनाउन आलु महोत्सवको भूमिका महत्वपूर्ण रहेको औँल्याए ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिन सुझाव दिर्दै आलु महोत्सव किसानको महोत्सव हुनुपर्ने बताए । उनले उन्नत विउ लगाए नियमित अवस्थामा भन्दा १५ देखि २० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने स्पष्ट पार्दै आलुको उत्पादनमा ध्यान दिन आयोजकलाई ध्यानाकर्षण गराए ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरीता तिमिल्सीना पंगेनी, कृषि ज्ञान केन्द्र कास्की प्रमुख किरण सिग्देल, क्लवका सदस्य सन्तोष पौडेल लगायतले धारणा राख्दै आलु तरकारीको राजा भएको औँल्याए ।
महोत्सव अन्तर्गत आजकल स्टल निर्माणको कार्य धमाधम भइरहेको छ । त्यहाँ कुल १ सय ४० स्टल रहनेमा ४० स्टल कृषि उपजको प्रवद्र्धनका लागि छुट्टाइएको छ । महोत्सवको तयारी स्वरुप दैनिक जसो बैठक, छलफल एवम् भेटभाट जारी छ । महोत्सवमा प्रतिकेजी रु.३८ देखि ४० का बीचमा आलुको कारोवार हुने तथा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।
महोत्सवका लागि सदाझै यस वर्ष पनि ‘सुन्दर ठाँउ हेमजा जाऔंः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नारालाई अगाडि सारिएको छ ।
हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् ।यस वर्षको महोत्वव अन्तर्गत हेमजामा करिव ८० टन आलुको कारोवार हुने आयोजकको अपेक्षा छ ।












