
काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए–नेपाल) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाललाई दिइएको छ।
संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम के.सी.ले २०८३ कात्तिक ३० गते पत्रमार्फत ढकाललाई उक्त जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भई पार्टीको जिम्मेवारीसमेत निर्वाह गरिरहेका के.सी.ले समय व्यवस्थापनमा कठिनाइ हुने भएपछि संस्थाको नेतृत्व निरन्तरताका लागि जिम्मेवारी हस्तान्तरण गरेको जनाइएको छ।
डिएलए नेपालको एघारौँ महाधिवेशन २०८० जेठमा सम्पन्न भएको थियो। विधानअनुसार तीनवर्षे कार्यकाल पूरा भइसकेकाले कार्यवाहक अध्यक्ष ढकालको प्रमुख जिम्मेवारी आगामी बाह्रौँ महाधिवेशन सम्पन्न गराउनु रहेको छ।
ढकालले संस्थाभित्र एकता र सहकार्य कायम गर्दै महाधिवेशनलाई निष्पक्ष, पारदर्शी तथा विधानसम्मत रूपमा सम्पन्न गराउने जिम्मेवारी पाएका छन्।












