
पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ४ का रिजन चेयरपर्सन कल्पना गुरूङद्वारा श्रीकृष्ण प्रणामी वृन्दावनधामका संचालिका कला गुरूङ सम्मानित भएकी छन् ।
रिजन चेयरपर्सन गुरूङले रिजन चारको रिजन कन्फ़ेरेन्समा पोखरा–२७, परमार्थ नगर डाडाँकोनाकस्थित आश्रममा बसोबास गर्ने अनाथ बालबालिकालाई आश्रय दिई अनुकरणीय सामाजिक कार्य गरेकोमा सम्मान सहित नगद प्रदान गरेकी हुन् ।
लमजुंगको मध्यनेपाल–८, करापु घर भएकी गुरूङले सम्मान पश्चात बोल्दै सबैको साथ सहयोगले आश्रम संचालनमा सहयोग पुगेको र आगामी दिनमा पनि यस्तै प्रकारको सहयोग र सद्भावको खाचो रहेको बताउदै सहयोग गर्नेहरु कहिल्यै गरीब नहुने धारणा राखेकी थिइन् ।
रिजन चियरपर्सन कल्पना गुरूङको अध्यक्षता डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता, निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको बिशेष आतिथ्यतामा रिजन कन्फेरेन्स सम्पन्न भएको थियो ।
कन्फेरेन्समा रिजन अन्तर्गतका ८ वटा क्लबका अध्यक्षसहित पदाधिकारी लायन्स लिडर र ननलायन्सको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा पोखरा-२९, भण्डारढिकका उद्वार आमा समूहले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । रिजन कन्फेरेन्समा लायन्स सदस्य बाहेककालाई पनि समेटेर लायन्सले समाजमा गरेका सामाजिक कामका बारेमा जानकारी गराई सदस्य बन्न प्रेरित गर्ने उद्देश्य रहेको हुन्छ ।
रिजन अन्तर्गतका जोन चेयरपर्सनहरू जोन ७ र ८ का जोन चेयरपर्सनद्वय बद्रिका ढुंगाना र तिलकशाली सापकोटाले आ–आफ्ना जोन अन्तर्गतका क्लबहरूले गरेका कामको समिक्षा सहित रिपोर्ट प्रस्तुत गरेका थिए ।
सो अवसरमा रिजन चेयरपर्सन गुरूङले जोन चेयर पर्सन सहित ७ वटै क्लबका अध्यक्ष र रिजन एडभाईजर हिरा भण्डारीलाई मायाको चिनोले सम्मान गरेकी थिईन् ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट 4C6 क्यालिफोर्निया अमेरिकाका पूर्व डिष्ट्रिक्ट गभर्नर थोल्मा आर बातिलोले नेपालमा लायन्सले गरेका सेवाका कार्यप्रति गर्व महशुष गर्दै अवसरबाट वंचित नेपालका बालबालिकाका लागि स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्न इच्छुक रहेको बताईन् । उनले गण्डकी प्रदेश अन्तर्गतका अधिकांश जिल्लाको समेत भ्रमण गरेकी छन् ।

कार्यक्रममा पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले लायन्सले समुदायमा स्वास्थ्य, शिक्षा, वातावरणलगाएतका विविध पक्षमा काम गर्दै आएको स्मरण गर्दै स्थानीय सरकार लायन्ससँग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि केसी, विशिष्ट अतिथिद्वय बसेल र ढुंगानाले रिजन चार अन्तर्गतका क्लबहरुको सक्रियता तथा सामाजिक काममा योगदान उल्लेख्य रहेको धारणा राखेका थिए । उत्कृष्ट ढंगले रिजन कन्फ़ेरेन्स गरेकोमा रिजन चेयरपर्सन गुरूङलाई बधाई सहित धन्यवाद व्यक्त गरेका थिए ।











