
पोखरा भ्यूज
पोखरा, ४ मंसिर । लायन्स अन्तर्राष्ट्रियका द्वितीय उपाध्यक्ष मार्क स्टेफन लियोनको सम्मानमा पोखरास्थित पाँच वटा डिष्ट्रिक्टको आयोजनामा बेन्कुईट (रात्री भोज) सम्पन्न भएको छ ।
मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपाल अन्तर्गतका पोखरा क्षेत्रमा रहेका डिष्ट्रिक्टहरू आई, जे, के, एल र एमको संयुक्त आयोजनामा द्वितीय उपाध्यक्ष मार्क एस. लियोन र उहाको धर्मपत्नी क्यारोलिन फारिस लियोनको सम्मानार्थ मंगलवार होटल पोखरा ग्राण्डमा बेन्कुईट सम्पन्न भएको हो ।
लायन्स डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर मिलन थापाको अध्यक्षतामा सम्पन्न बेन्कुईटमा लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटी, पोखरा महानगरपालिका प्रमुख एवं पूर्व डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, एम का डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्याल, पोखरास्थित पाँचवटा डिष्ट्रिक्टका भाईस डिष्ट्रिक्ट गभर्नर, पूर्व डिष्ट्रिक्ट गभर्नर लगाएत लायन्सका सिनियर लिडरहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा डिष्ट्रिक्ट ३२५ जी नेपालका डिष्ट्रिक्ट गभर्नर कमल कायस्थको पनि उपस्थिति रहेको थियो ।
बेन्कुईट पार्टीलाई सम्बोधन गर्दै लायन्स अन्तर्राष्ट्रियका द्वित्तिय उपाध्यक्ष मार्क स्टेफन लियोनले नेपालमा लायन्सले गरेका मानवीय सेवाका कार्य र नैतिक मूल्य मान्यता सहितका सिद्धान्तबाट आफू प्रभावित भएको बताउदैं नेपालका लायन्सले गरेको स्वागत एवं सम्मानबाट अति नै ख़ुशी लागेक़ो बताए ।
लियोनले सम्बोधनका क्रममा क्लबलाई प्रभावकारी एवं सशक्त बनाउनु पर्ने बताउदै नयाँ सदस्य भित्राउन फेलोशिपका कार्यक्रमलाई जोड दिनुपर्ने बताए । लायन्स अन्तर्राष्ट्रियको मिशन १.५ लाई पूरा गर्न प्रत्येक लायन सदस्यले क्लबमा नयाँ सदस्य प्रायोजन गर्न अनुरोध गरेका थिए । प्रत्येक नयाँ सदस्यले फेलोशिप मार्फ़त नयाँ विचार, नयाँ अवसरहरू ल्याउँछन् । लायन्सले गर्ने सेवाका कार्यका बारेमा जानकारी गराई क्लबमा नयाँ सदस्यलाई आमन्त्रण गर्नुस्, भेदभावरहित तरिकाले महिला, युवा, वयस्कहरू, साथै विभिन्न सांस्कृतिक र जातीय समूहका व्यक्तिहरूलाई आमन्त्रित गर्नुहोस् भनि गरेका थिए । उनले सेवा गर्नुपर्छ भन्ने सोच भएकालाई सोध्नु महत्त्वपूर्ण हुने बताउदै तिमीले सोधेनौ भने अरु कसले सोध्ने ? भन्ने भनाई राखेका थिए ।
लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपाल अन्तर्गतका डिष्ट्रिक्टहरू आई, जे, के, एल र एमले आफुले लायन्स अन्तर्राष्ट्रियमा गरेका प्रतिबद्वता पूरा गरेको बताउदै क्लब एक्सटेन्सन, मेम्बरशीप ग्रोथ, एलसिआईएफमा योगदान र सर्भिसका कार्य अति नै उत्कृष्ट रहेको बताए ।
पोखरा महानगरपालिका प्रमुख एवं पूर्व डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले पोखरा लायन्स सिटी पनि हो, सबैको एउटै उद्देश्य सेवा गर्नु हो आउँनुस् मिलेर काम गरौ समाजमा राम्रो मेसेज दिने गरी सेवाका कार्य गर्न हातेमालो गर्न महानगरपालिका सधै तत्पर रहेको बताए ।
डिष्ट्रिक्ट ३२५ एल का प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर एकनारायण शर्माको संचालन रहेको कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले स्वागत मन्तव्य, एम का डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले द्वितीय उपाध्यक्ष मार्क स्टेफन लियोनको ब्यक्तित्व परिचय र पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।











