
पोखरा भ्यूज
पोखरा । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालले सोमवार पोखरामा विद्युतीय चुलो प्रवद्र्धन बिषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
नेपालमा विद्युतीय चुलोको दिगो बजार बिकास परियोजना विषयक प्रादेशिक कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीले विद्युतीय चुलोको प्रयोग, प्रवद्र्धन तथा विस्तार गर्न गुणस्तरीय विद्युत् उपलब्ध हुनुपर्ने कुरामा जोड दिएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका उधोग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले विद्युतीय चुलोको दिगो प्रयोगलाई व्यापक बनाउन गुणस्तरीय विद्युत् वितरण प्रणाली अपरिहार्य रहेको कुरामा जोड दिए । बिद्युतको गुणस्तरीय आपूर्तिमा जोड दिन सके विद्युतीय चुलोको उपयोग तथा प्रवद्र्धन गर्न सकिने भनाई राख्दै मन्त्री बस्यालले आफु लामो समय बिधुत बिकासमा लागेर कार्य गरेको अनुभव पनि सुनाएका थिए ।

ठिक समयमा ठिक निर्णय गरेर कार्यक्रम ल्याउनु भएको छ, वास्तविकतामा आधारित पनि छ, यस विषयमा प्रदेश सरकार गम्भीर पनि छ र सहकार्य गर्न तयार रहेको मन्त्री बस्यालको भनाई थियो । वैकल्पिक उर्जाको प्रयोग बढाउन विद्युत् महसुल पनि सस्तो बनाउँदै लैजानु पर्छ भन्दै बस्यालले लक्षित परिवारलाई सस्तो र सर्व सुलभ मूल्यमा विद्युतीय चुलो वितरण गरी लाभान्वित गराउनु पर्ने भनाइ बस्यालले राखेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण पाण्डेले भरपर्दों बिजुलीको ब्यवस्था र बिद्युतको सम्पूर्ण पूर्वाधार तय भएमात्र विद्युतीय चुलोको प्रयोग बढाउन सकिने भनाई राख्दै विद्युतीय चुलो प्रयोगले नागरिकको जीवनस्तरमा सुधार ल्याउने मात्र नभई वातावरण स्वच्छ राख्नमा सघाउँ पुग्ने विस्वास ब्यक्त गरे ।
कार्यक्रममा प्राक्टिल एक्सनका बासुदेव उपाध्यायले विद्युतीय चुलो प्रर्वद्धनका क्षेत्रमा गरेको कामको प्रगति विवरण प्रस्तुत गर्दै विद्युतीय चुलो प्रर्वद्धनका क्षेत्रमा गरेको कामको उपलब्धि बारे चर्चा गरेका थिए ।

कार्यक्रममा विद्युत स्थिरता, ग्रिड क्षमता, लोड व्यवस्थापन र आपूर्ति निरन्तरता, विद्युतीय खाना पकाउने प्रवद्र्धन, नवीकरणीय ऊर्जा, अनुदान योजना, र नीति सुधार, धुवाँरहित खाना पकाउने प्रविधि तथा विद्युतीय चुलोको प्रभाव गुणस्तरीय बजार, अनुगमन र सेवाको प्रभावकारिता लगाएतका बिषयमा प्यानल छलफल भएको थियो ।
पत्रकार कृष्णा पौडेलले संयोजन गरेको प्यानल छलफलमा प्यानलिस्टहरूमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय सचिव डा. राजन भट्टराई, गण्डकी प्रदेश नीति तथा योजनाका सचिव टंक प्रसाद पाण्डे, नेपाल बिधुत प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख मनोज कुमार यादव, रुपा गाउँपालिका कास्कीका उपाध्यक्ष लाल सुब्बा गुरुङ्ग, धवलागिरी सामुदायिक स्रोत बिकास केन्द्रका सृजना थापा र व्यवसायी रमा वाग्ले रहेका थिए ।
छलफल एवं अन्तरक्रिया कार्यक्रममा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय सचिव डा. राजन भट्टराईले उज्यालो गण्डकी प्रदेश बनाउने उद्देश्य बमोजिम गरिएको कामले ९९.८ प्रतिशत सफलता हासिल गरेको बताए । उनले विद्युतीय चुलो विस्तारलगायत अन्य दीर्घकालीन योजनाका काम भइरहेको बताउदै विद्युत्को बढीभन्दा बढी खपत बढाउन प्रदेशले विभिन्न कार्यक्रम राखेको उनले जानकारी दिए ।
अन्तरक्रियाकै क्रममा गण्डकी प्रदेश नीति तथा योजनाका सचिव टंक प्रसाद पाण्डले गण्डकी प्रदेश सरकारले विद्युतको खपत बढाउन विद्युतीय चुलो प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।
त्यस्तै नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख मनोज कुमार यादवले प्राधिकरणले गुणस्तरीय सेवा प्रदान गर्दै आई रहेको बताउदै विद्युतीय चुलोको उपयोग तथा प्रवद्र्धन गर्न वितरण लाइन सुधार, ट्रान्सफर्मर लगायत संरचनाको स्तरोन्नति बढाइरहेको जानकारी गराए ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका महासचिव गोविन्द पौडेल, रुपा गाउँपालिका कास्कीका उपाध्यक्ष लाल सुब्बा गुरुङ, धवलागिरी सामुदायिक स्रोत बिकास केन्द्रका सृजना थापा र व्यवसायी रमा वाग्ले सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष कालीदास सुवेदी, गैर सरकारी महासंघ कास्कीका अध्यक्ष बुद्धी बहादुर थापाले बैकल्पित उर्जा प्रयोग गर्न सचेत र जागरुक बनाउन विद्युतीय चुलोलाई अभियानका साथै गाउँगाउँमा पुर्याउनु पर्ने धारण राखेका थिए ।











