
पोखरा । विश्व अल्ट्रा धावकमा नेपालको नाम चम्काउँदै आएकी सुनमाया बुढा अन्नपूर्ण म्याराथनमा भाग लिन नाम दर्ता गरेकी छन् । अन्नपूर्ण आरोहण दिवस अर्थात् जुन ३ तारिख (जेठ २०) मा हुन लागेको पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा बुढाको सहभागिता निश्चित भएको आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले जानकारी दिए । साना गाउँका पहाड चढ्दै दौडको यात्रा थालेकी सुनमायाले आज विश्वभरका धावकहरुसँग प्रतिस्पर्धा गर्दै नेपालको गौरव बढाउँदै आएकी छन् ।

१० वर्षअघि ’अल्ट्रा ट्रेल’ रनिङमा कदम राखेकी बुढाले सन् २०१६ मा काठमाडौंको गोदावरीमा आयोजना भएको १२ किलोमिटरको ट्रेल रेसमार्फत औपचारिक प्रतिस्पर्धा सुरु गरेकी थिइन् । त्यसयता उनले पछाडि फर्कनु परेको छैन ।
जुम्लाको पातारासी गाउँपालिका–२ स्थित पेरे गाउँमा जन्मिएकी सुनमायाले सन् २०२५ को जनवरीमा हङकङमा आयोजित १०५ किलोमिटर दौड जित्दै विश्व कीर्तिमान कायम गरेकी थिइन् । यसअघि पनि उनले सन् २०२२ मा थाइल्याण्डमा आयोजित अल्ट्रा ट्रेल रनिङमा महिलातर्फ प्रथम स्थान हासिल गरेर इतिहास रच्न सफल थिइन् । त्यसै वर्ष फ्रान्समा आयोजित “युटीएमबी सीसीसी” दौडमा मा दौडमा उनले दोस्रो स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय धावकको इतिहासमा आफ्नो गहिरो छाप छोडिन् । सन् २०२३ मा हङकङमा आयोजित प्रतिष्ठित नर्थ फेस हङकङ १०० रेसमा उनले पुनः प्रथम स्थान प्राप्त गरिन् ।
स्विट्जरल्याण्ड, चीन, इटाली, ओमान, मलेसिया, अस्ट्रेलिया लगायतका दर्जनभन्दा बढी देशमा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएकी बुढाले विश्वमञ्चमा नेपाली महिलाको क्षमता उजागर गरिरहेकी छन् । नेपालमा आयोजित धरान म्याराथन, जुम्ला म्याराथन, ब्रेस्थलेस रनिङ, एसएसआइजी, तेन्जिङ हिलारी म्याराथन, जुम्ला रारा अल्ट्रा र गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी हुँदै उनले थुप्रै पदक जितेकी छन् ।
सात दिदीबहिनीमध्ये चौथी सन्तान सुनमाया सानैदेखि खेलमा रुचि राख्थिन्। ७ कक्षामा अध्ययनरत हुँदा राष्ट्रपतिको रनिङ शिल्डबाट उनको औपचारिक खेल करिअरको सुरुआत भएको हो । रोचक कुरा के छ भने, उनका साथ पाँचौं बहिनी राममाया बुढा पनि दौडमा सक्रिय छन् । हाल ’कैलाश फुगा’ ब्रान्डको स्पोन्सरशिपमा विश्व दौड प्रतिस्पर्धामा सहभागी भइरहेकी बुढाले अन्नपूर्ण म्याराथनमार्फत पुनः नेपाली गौरवलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य छ ।
पाँचौं संकरणको म्याराथनमा ८० धावकहरुले प्रतिस्पर्धाका लागि दर्ता गरेका छन् । तीमध्ये २२ महिला धावक छन् । म्याराथनमा स्विजरल्याण्ड, अष्ट्रेलिय, स्पेन लगायतका करिब ७ देशका ८ धावकले हालसम्म नाम दर्ता गराएको म्याराथनका प्राविधिक संयोजक रिकी योञ्जनले बताए । उनका अनुसार जेठ १५ गतेसम्म नाम दर्ता गराउने समय भएकाले धावकहरु बढ्ने सक्नेछन् ।





