२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

वियोगीको कथासंग्रह ‘सत्यम्’ को गृहजिल्लामा विमोचन

स्याङ्जा । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्’ को वालिङ, मिर्दीमा विमोचन तथा विमर्श गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमका बीच ‘सत्यम’ नामक कथासंग्रह कृतिको विमोचन गरिएको हो । कथासंग्रह ‘सत्यम’ नामक पुस्तकको पुर्व कृषि मन्त्री तथा साहित्यकार त्रिलोचन ढकाल, समालोचक डा.अशोक थापा, समिक्षकद्धय शान्ता थापा र शम्भु अर्याल, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार राना, लेखकले संयुक्तरुपमा गृहजिल्ला स्याङ्जामा कृतिको अनावरण गरेका थिए ।
कार्यक्रममा पुर्व कृषि मन्त्री ढकालले साहित्य कल्पना र यथार्थताको संयोजन भएको बिषयको पक्ष ‘सत्यम्’मा पाइन्छ, उनले भने, ‘वियोगीका कथामा २०५२ सालदेखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको परिवेश पनि समेटिएको छ ।’ गाउँदेखी शहरसम्मका बिषयलाई समेटेर कथामा उतारिएको उक्त पुस्तक भोलीका दिनमा एक एतिहासिक झलक दिने ढकालले बताए ।
समाचोलक डा. थापाले पत्रकारिता पेशामा रहेका वियोगीले समाचार तथा फिचरमा लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत उनको कथाकृतिमा झल्किने गरी उतारेको बताए । असत्यले सत्यलाई छायाँमा पारेको यो समाजको वर्गीय पीडा र यथार्थ सत्य उत्घाटित गर्नु कथाकृति सत्यम्को विशेषता रहेको उनको भनाइ थियो । पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असरजस्ता विषयसमेत सत्यम्ले उठाएको उनले बताए । तथ्यपरक विषय गणित पढेको, तथ्यमै आधारित पेशा पत्रकारिता अँगालेका वियोगीले बाङ्गोटिङ्गो भावपरक विधा साहित्य लेख्नु आफैँमा रोचक विषय भएको विवेचना गरेका थिए ।
कृतिको समीक्षा गर्दै समीक्षक तथा आँधीखोला रेडियोकी अध्यक्ष शान्ता थापाले सत्यम् स्याङ्जाको मौलिक संस्कृति समेटिएको कृति रहेको बताइन् । कृति पठनको क्रममा आफू धेरै पटक भावुक भएको पनि उनको भनाइ थियो । अर्का समीक्षक तथा निबन्धकार अर्यालले समाज र परिवेशका अति सुक्ष्म विषय लाई कृतिले उधिनेर निकालेको बताए । कथामा स्याङ्जाली भूगोलको मौलिकता अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको पनि बताए । कथाकार वियोगीले कृति रचनाको पृष्ठभूमिका विषयमा बोलेका थिए । ‘म कथाकार वा लेखक बनुँला÷नबनुँला,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा धेरैले मलाई सहयोग गर्नुभयो र त्यही दिशानिर्देशले नै आज यो ठाउँमा छु, म सबैप्रति आभारी छु । मैले सत्यम्लाई होइन, सत्यम्ले मलाई चिनाइदिए पुग्छ ।’
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रानाले वियोगीले कथामार्फत आफ्नो जन्मभूमि र यहाँको मौलिकतालाई थप उजागर गरेको बताए । साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका वियोगीको यो पहिलो कथा–कृति हो । समालोचकहरूले भने जस्तै कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानी ढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेका छन् ।
यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन् । बालवयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुच्र्छना र लोक–संस्कृतिको सुगन्ध पनि पाइने कार्यक्रममा चर्चा गरियो । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन् । कथामा पर्यावरणीय चेत र वस्तुवादी धारसमेत पाइन्छ ।

‘सत्यम्’ को गृहविमोचन तथा विमर्श एवम् बृहत् सिर्जना वाचन समारोह नाम दिइएको कार्यक्रममा २५ जना कविहरूले सिर्जना वाचन गरेका थिए । करिब २ दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिक लगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ । हाल उनी नेपालको पहिलो ऊर्जा सम्बन्धी अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’को सम्पादकको जिम्मेवारीमा छन् । साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् ।
‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उनको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । यो कथा पनि संग्रहमा समावेश भएको उनले बताए । उनका शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भएका छन् । पेज टर्नर प्रालिले प्रकाशन गरेको १५ कथा संग्रहित कृतिको बजार मूल्य ४५५ रुपैयाँ रहेको छ । यस प्रकाशनले अहिलेसम्म करिब ३ दर्जन साहित्यिक कृति प्रकाशन गरिसकेका छन् । बिमोचन कार्यक्रमको सहजिकरण कवि मिलन समिरले गरेका थिए । जिल्लाभित्रका साहित्यकर्मीहरुको कार्यक्रममा बाक्लो सहभागीता रहेको थियो ।

 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…