
अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका कास्कीको चालु आर्थिक वर्षको अन्तिम सम्ममा वित्तीय प्रगति ८८.३९ प्रतिशत रहेको छ।
आर्थिक कार्यबिधि तथा बित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० बमोजिम २०८१/०८२ को बित्तिय प्रगति सार्बजनिक गरिएको अन्नपूर्ण गाउँपालिका कास्कीका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
उनले भने,’यस कार्यालयको आर्थिक बर्ष २०८१/०८२ को सम्पूर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखाङ्कन कार्य सम्पन्न गरी (आज) असार २५ देखि सम्पूर्ण कारोवार बन्द गरिएको छ, चालु आ.व.मा यस कार्यालयको बित्तिय प्रगति औसतमा ८८.३९ प्रतिशत रहेको छ ।’

आ.व. २०८१/८२ को वार्षिक प्रगति सार्वजनिक गर्दै पोखरेलले २०८१/८२ कुल ६० करोड ५७ लाख ७३ हजार ३ सय ८६ मध्ये चालु आ.व.को अन्त्यसम्म औसतमा ८८.३९ प्रतिशत अर्थात् ५३ करोड ५४ लाख ३९ हजार ७० खर्च गरेको जनाएका छन् ।
वित्तीय प्रगति विवरण अनुसार चालु खर्चतर्फ ४२ करोड ६८ लाख १० हजार ५०० मा ३८ करोड़ ४० लाख ८० हजार ५ सय ४७ अर्थात् ८९.९९ प्रतिशत र पुँजीगत खर्चतर्फ १७ करोड ८९ लाख ६२ हजार ८ सय ८६ मा १५ करोड़ १३ लाख ५८ हजार ५ सय २२ अर्थात् ८४.५७ प्रतिशत खर्च भएको छ । यो चालु र पुँजीगततर्फ औसतमा ८८.३९ प्रतिशत हो ।
गाउँपालिकाले आगामी आ.व. २०८२/०८३ मा कृषि, पशुपन्छी, सिप विकास र रोजगारी, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ । पालिकामा भएका पूर्वाधार विकाससँगै स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद, वन तथा वातावरण, विपत् व्यवस्थापन, संस्थागत विकास तथा सेवाप्रवाहलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले बताए ।











