
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।
उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । गतसाता युवा पुस्ता (जेन जेडको आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी हुन् ।
नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।
आजै राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीको शपथ सम्पन्न भएलगत्तै सिंहदरवारमा पद बहालीको तयारी गरिएको छ। प्रशासन स्रोतका अनुसार, शपथ ग्रहणपछि उनी सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएर पदबहाली गर्ने र त्यसपछि क्याबिनेट बैठक बस्ने छ। तर क्याबिनेट बैठक सिंहदरवारमा बस्ने कि शीतल निवासमा भन्नेबारे भने अझै स्पष्ट भएको छैन।
स्रोतका अनुसार पहिलो क्याबिनेट बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद विघटन र संकटकालको सिफारिस गर्न सक्ने सम्भावना रहेको छ। राष्ट्रपति पौडेलको अनुमोदनपछि संवैधानिक विशेषाधिकार प्रयोग गरी संसद विघटन हुने र तीन महिनाका लागि संकटकालको घोषणा हुन सक्ने बताइएको छ । यसै सन्दर्भमा प्रधानमन्त्री कार्कीले मुलुकलाई स्थिरतर्फ डोर्याउने पहिलो कदमको तयारी सुरु गर्ने बुझिएको छ।
नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की यसरी दुई प्रतिष्ठित पदमा पुग्ने पहिलो व्यक्तिका रूपमा इतिहास रच्ने क्रममा छिन्। अन्तरिम मन्त्रिपरिषद् गठनसँगै कम्तीमा तीन मन्त्रीले पनि शपथ ग्रहण गर्ने अनुमान गरिएको छ। जसमा बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल, कुलमान घिसिङ र बालानन्द शर्मा मन्त्री बन्न लागेको प्रशासनका उच्च स्रोतले जानकारी दिएका छन्। आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन हुने भएको छ।






























