
अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकमा दशैं मेला सुरु भएको छ । स्थानीय क्युप्चे बराह क्लबले आफ्नो २६औं वार्षिकोत्सव तथा बिजया दशमीको अवसर पारेर मेलाको आयोजना गरेको हो ।
मेलाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले लान्द्रुक दशैं मेलाले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउँदै खेलमैदान तथा आमा समूह भवन निर्माणका लागि पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले जेन्जी आन्दोलनका कारण बजेट कटौती भए पालिकाहरुले विरोध गर्ने चेतावनी पनि दिए ।
वडा अध्यक्ष भरतमान गुरुङले विपरीत परिस्थितीबीच पनि विकास योजनालाई अघि बढाउने बताउँदै लान्द्रुकमा सञ्चालन हुन लागेको हाइड्रोपावरले स्थानीय माग सम्बोधन नगरे सञ्चालन रोक्ने चेतावनी दिए ।
वडा सदस्य राम बहादुर गुरुङले खेलकुद र मेलाले गाउँमा भाइचारा र पर्यटन प्रवर्द्धनमा योगदान पुगेको बताए । कार्यक्रममा पूर्व वडा अध्यक्ष, समाजसेवी तथा स्थानीय अगुवाहरुले पनि मन्तव्य राखेका थिए ।
मेलामा पुरुष, महिला र प्रौढ भलिबल, घोडादौड तथा विविध सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।











