
पोखरा । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यद्यपि, पार्टीले उक्त राजीनामालाई अझै सार्वजनिक गरेको छैन ।
पार्टीका एक पदाधिकारीका अनुसार, “६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक छलफल हुनेछ । राजीनामा दिने निर्णय सभापतिको अधिकारभित्र पर्छ, र उहाँले त्यो प्रयोग गर्नुभएको छ । तर स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय भने केन्द्रीय कार्यसमितिको अधिकार हो ।”
यसअघि २७ देखि ३० पुससम्म भृकुटीमण्डप मा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । तर उक्त महाधिवेशनको वैधानिकतामाथि विवाद कायमै छ । तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्च अदालतमा अझै विचाराधीन छ ।
रोचक पक्ष के भने, विशेष महाधिवेशनको विरोध गर्ने नेताहरू समेत नवनिर्वाचित सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । अब उनको राजीनामाले कांग्रेसभित्र नेतृत्व, वैधानिकता र आगामी रणनीतिबारे नयाँ बहस सुरु हुने देखिएको छ ।




























