
पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले मल्ललाई नेविसंघको अध्यक्षमा मनोनीत गरेका हुन्।
समितिले कार्तिक १२ गते जारी गरेको मनोनयन पत्रमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम मल्ललाई नेविसंघको अध्यक्षमा मनोनयन गरिएको उल्लेख छ।
मनोनीत अध्यक्ष मल्ललाई नेपाली कांग्रेसको स्थापित मूल्यमान्यता आत्मसात् गर्दै आगामी ६ महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गरी संगठनलाई थप मजबुत बनाउन निर्देशनसमेत दिइएको छ।

लामो समयदेखि नेतृत्व र महाधिवेशनको विषय चर्चामा रहँदै आएको नेविसंघमा मल्लको मनोनयनसँगै संगठनको आगामी महाधिवेशन र नेतृत्व व्यवस्थापनलाई लिएर चासो बढेको छ।
अब मल्लको नेतृत्वमा नेविसंघको महाधिवेशन निर्धारित समयभित्र सम्पन्न हुन्छ वा हुँदैन भन्ने विषयलाई विद्यार्थी राजनीतिक वृत्तले चासोका साथ हेरेको छ।











