
पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा सम्पन्न समितिको ३०औँ साधारणसभा तथा १२औँ अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा शान्तादेवी थापा भण्डारी, द्वितीय उपाध्यक्षमा परमेश्वरबहादुर कार्की र तृतीय उपाध्यक्षमा महादेव न्यौपाने निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा पुष्पकमल पौडेल, सहसचिवमा लक्ष्मण बानियाँ, कोषाध्यक्षमा निलकण्ठ पोखरेल र सहकोषाध्यक्षमा गणेश खड्का चयन भएका छन् ।
समितिका सदस्यहरूमा कमलबहादुर कार्की, गुना थापा, सम्झना अधिकारी, गीताकुमारी कोइराला आचार्य, रेशम भण्डारी, डिलबहादुर कार्की र नारायणबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनको अवसरमा समितिले मधुमेह (डाइबिटिज) सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविरसमेत आयोजना गरेको थियो । सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजित शिविरमा सहभागीहरूलाई मधुमेहसम्बन्धी स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो ।
दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित कार्कीले समितिले सञ्चालन गर्दै आएका सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सेवामूलक गतिविधि विस्तार गर्ने अपेक्षा गरिएको छ ।
संस्थाका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन सचिव महादेव न्यौपानेले गरेका थिए । सभामा अध्यक्ष, सचिव र कोषाध्यक्ष निलकण्ठ पोखरेलले प्रस्तुत गरेका प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका थिए ।
१८० जना साधारण सदस्य रहेको समितिले घरदेखि घाटसम्म समाजमा आइपर्ने विभिन्न सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको संस्थाकी उपाध्यक्ष शान्तादेवी थापा भण्डारीले जानकारी दिइन् ।
उनका अनुसार संस्थाको आम्दानीको मुख्य स्रोत सदस्यहरूबाट मासिक रूपमा संकलन गरिने ५० रुपैयाँ शुल्क, देउसीभैलो कार्यक्रम तथा संस्थाको आफ्नै भवनबाट प्राप्त हुने घरभाडा हो । यिनै स्रोतबाट संस्थाका सामाजिक तथा कल्याणकारी गतिविधि सञ्चालन हुँदै आएका छन् ।
‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै समितिले स्वास्थ्य सेवा, सामाजिक सहयोग तथा विभिन्न कल्याणकारी गतिविधि सञ्चालन गर्दै आएको छ ।











