२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026
खबरस्वास्थ्य

पोखरामै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

पोखरा । वैदेशिक रोजगारीमा जाने पोखरा तथा आसपासका जिल्लाका युवाले स्वास्थ्य परीक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गर्दै पोखरामै स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ।

अस्पतालले गत कात्तिक १ गतेदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत विदेश जाने श्रमिकलाई लक्षित गरी सुरु गरिएको सेवा दुबई जानेमा मात्र सीमित छैन। आवश्यक कागजात पूरा गर्ने अन्य मुलुकमा वैदेशिक रोजगारीका लागि जाने नेपाली नागरिकले समेत यो सुविधा लिन सक्ने अस्पतालले जनाएको छ।

प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. झपिन्द्र पोखरेलका अनुसार सम्बन्धित मन्त्रालयबाट प्राप्त पत्र तथा निर्देशनपछि आवश्यक कार्यविधि तयार पारेर सेवा सुरु गरिएको हो। पोखराबाट वैदेशिक रोजगारीमा जाने नागरिकको स्वास्थ्य परीक्षण स्थानीय स्तरमै गर्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएपछि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याइएको उनले बताए।

अस्पतालले स्वास्थ्य परीक्षणका लागि ६ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरेको छ। श्रम मन्त्रालयले सिफारिस गरेको शुल्कअनुसार नै रकम तोकिएको निर्देशक डा. पोखरेलले जानकारी दिए।

निर्देशक डा. झपिन्द्र पोखरेल

स्वास्थ्य परीक्षणअन्तर्गत रगतको सामान्य जाँच (सीबीसी), रगतमा चिनीको मात्रा (आरबीएस), मिर्गौला तथा कलेजोको कार्यक्षमता परीक्षण (आरएफटी र एलएफटी), पिसाब परीक्षण, सेरोलोजी, भीडीआरएल, ईसीजी, छातीको एक्सरे, माइक्रोफाइलेरिया, मलेरिया, लागूऔषध परीक्षण (ओपिओइड र क्यानाबिस) तथा ईएसआर परीक्षण गरिनेछ। आवश्यकताअनुसार निर्धारित परीक्षणबाहेक थप जाँच गर्नुपरेमा त्यसको शुल्क अतिरिक्त लाग्ने अस्पतालले जनाएको छ।

अस्पतालमा हरेक दिन बिहान १० बजेदेखि स्वास्थ्य परीक्षण सेवा उपलब्ध हुनेछ। हाललाई अग्रिम समय लिनुपर्ने व्यवस्था छैन। सेवाग्राहीले अस्पतालको बिलिङ काउन्टर वा दर्ता शाखामा सम्पर्क गरी परीक्षण प्रक्रिया अघि बढाउन सक्नेछन्।

स्वास्थ्य परीक्षणका लागि आउने व्यक्तिले सम्बन्धित कम्पनीबाट प्राप्त रोजगारीको आधिकारिक प्रमाणपत्र तथा नेपाल सरकारका सम्बन्धित निकाय (श्रम मन्त्रालय वा स्थानीय तह) बाट जारी गरिएका श्रम स्वीकृतिसम्बन्धी कागजात पेस गर्नुपर्नेछ।

अस्पतालले दैनिक १० देखि १५ जनासम्मको स्वास्थ्य परीक्षण गर्न सक्ने क्षमता रहेको जनाएको छ। सेवाग्राहीको चाप बढेमा अग्रिम बुकिङको व्यवस्था गर्न सकिने भएकाले अस्पतालमा सम्पर्क गरेर सेवा उपलब्धताबारे जानकारी लिन सकिनेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले गत सेप्टेम्बर २३ देखि अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि स्थानीय स्तरमै स्वास्थ्य परीक्षणको आवश्यकता महसुस गरिएको थियो। सोही आवश्यकतालाई सम्बोधन गर्दै उडान सुरु भएको करिब एक महिनापछि अस्पतालले सेवा सञ्चालनमा ल्याएको हो।

यसअघि पोखरा तथा आसपासका जिल्लाबाट वैदेशिक रोजगारीमा जाने युवाले स्वास्थ्य परीक्षणका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। यसले यात्राको झन्झटसँगै समय र अतिरिक्त खर्चसमेत बढाउने गरेको थियो। अब पोखरामै स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध भएपछि श्रमिकले काठमाडौंसम्मको यात्रा खर्च, समय र अनावश्यक झन्झटबाट राहत पाउने अपेक्षा गरिएको छ।

निर्देशक डा. पोखरेलका अनुसार यो सेवा दुबई जाने श्रमिकका लागि मात्रै नभई आवश्यक कागजात पेस गर्ने अन्य वैदेशिक रोजगारीमा जाने नागरिकका लागि पनि उपलब्ध हुनेछ।

स्थानीय स्तरमै सेवा सुरु भएपछि पोखरा र आसपासका जिल्लाका श्रमिकलाई वैदेशिक रोजगारीको प्रक्रिया सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

५२२ शय्या सञ्चालनदेखि विशेषज्ञ सेवाको विस्तारसम्म, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुधारको फड्को

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले उपचार सेवा, पूर्वाधार र व्यवस्थापनमा उल्लेखनीय सुधार गर्दै सेवा विस्तारलाई तीव्रता दिएको छ। अस्पतालले शय्या क्षमता विस्तारदेखि विशेषज्ञ उपचार सेवा र आधुनिक प्रविधिको प्रयोगसम्मका क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको छ।

लामो समयदेखि १० शय्यामा सीमित आईसीयू क्षमता विस्तार गरी ३५ शय्या पुर्‍याइएको छ। आर्थिक वर्ष २०८१/८२ मा ४३४ शय्या सञ्चालनमा रहेकामा हाल अस्पतालमा ५२२ शय्या सञ्चालनमा छन्। यससँगै अस्पतालले स्वीकृत ५०० शय्याको क्षमतासमेत पार गरेको छ।

बिरामीको चाप व्यवस्थापन तथा सेवा प्रवाहलाई सहज बनाउन ओपीडी, बिलिङ र फार्मेसी सेवा विस्तार गरिएको छ। मुटुरोगसम्बन्धी ईसीजी, होल्टर र इकोकार्डियोग्राफी सेवा एकै स्थानबाट उपलब्ध गराइएको छ। त्यसैगरी मानसिक रोग उपचारतर्फ ईईजी र ईसीटी तथा रेडियोलोजी सेवामा समेत विशिष्टीकृत सुविधा थप गरिएको छ।

अस्पतालको शैक्षिक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि ‘वान हार्ट वर्ल्डवाइड’को सहयोगमा सिमुलेसन ल्याब स्थापना गरिएको छ। दन्त चिकित्सामा स्नातकोत्तर कार्यक्रम सञ्चालनको तयारी तथा विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) कार्यान्वयन प्रक्रिया पनि अघि बढाइएको छ।

विपद् व्यवस्थापन तथा आकस्मिक अवस्थालाई ध्यानमा राख्दै शव भण्डारण क्षमता ७२ बाट बढाएर ९६ पुर्‍याइएको छ। विपन्न तथा असहाय बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था पनि थप सुदृढ बनाइएको अस्पतालले जनाएको छ।

Read more

‘खोइ किसुनजीको सादगी, गणेशमानको त्याग ?’ पूर्ण तिमिल्सिनाको कांग्रेस नेतृत्वलाई प्रश्न

पोखरा । नेपाली कांग्रेसको संगठनात्मक गतिविधि, नेतृत्वको कार्यशैली र आमकार्यकर्तासँगको सम्बन्धलाई लिएर पार्टीभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। पार्टी सुधारको बहस चलिरहेका बेला नेपाली कांग्रेसका महासमिति सदस्य तथा…

कांग्रेसको छवि नेताकार्यकर्ताको व्यवहारबाटै बन्ने हो : महामन्त्री पौडेल

नागरिकसँग जिम्मेवार, मर्यादित र जनमैत्री व्यवहार गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको व्यवहारले नै कांग्रेसको समग्र छवि…

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…