
पोखरा । युआरएल फाउन्डेसनले स्थापना तथा सञ्चालन गर्दै आएको राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गर्न प्रतिभा छनोट समिति गठन गरेको छ ।
अग्रज पत्रकार केशवशरण लामिछानेको संयोजकत्वमा गठित समितिमा पत्रकारद्वय फणीन्द्र अकिञ्चन र ऋषि खतिवडा, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त तथा प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला सदस्य रहेका छन् ।
स्वास्थ्य क्षेत्रका विषयलाई पत्रकारितामार्फत उजागर गर्दै जनस्वास्थ्य सचेतना अभिवृद्धिमा योगदान पुर्याउने एक जना पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कारको राशि ३३ हजार ३३३ रुपैयाँ र ताम्रपत्र रहेको छ ।
स्वास्थ्य पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित पुरस्कार युआरएल फाउन्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको छ । फाउन्डेसनलाई गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले प्रवर्द्धन गर्दै आएको छ ।
१३ वर्षअघि स्थापना भएको युआरएलले गण्डकी प्रदेशका विभिन्न जिल्लामा २४ स्थानबाट स्वास्थ्य परीक्षण सेवा प्रदान गर्दै आएको छ ।












