कास्की काँग्रेस पदाधिकारीमा क्षेत्र नं. १ हावी, क्षेत्र नं. २ शून्य
- November 29, 2021
- 3321

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशनले कास्की काँग्रेस पदाधिकारीमा क्षेत्र नं. १ को वर्चश्व देखिएको छ । यद्यपि पदाधिकारीमा कास्की २ को प्रतिनिधित्व भने शून्य छ ।
एक सभापति, २ उपसभापति, दुई सचिव र सहसचिव गरी सात पदाधिकारीमा भएको निर्वाचनमा ५ पदाधिकारी क्षेत्र नं. १ को पोल्टामा परेको छ । तीमध्ये ५ पदाधिकारी क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने नेता छन् ।
सभापतिमा विजयी किशोरदत्त वराल, उपसभापति रामबाबु भण्डारी, सचिवद्वय भानुभक्त ढकाल र देवन्द्र भाट, सहसचिव नवीन सिग्देल क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने पदाधिकारी हुन् । त्यस्तै अन्य २ पदाधिकारीमध्ये उपसभापतिमा विजयी युवराज कुँवर र सहसचिवमा विजयी शंकर ढुंगाना दुवै क्षेत्र नं. ३ बाट प्रतिनिधितव गर्ने नेता हुन् ।
पदाधिकारीमध्ये कोषाध्यक्ष पद निर्वाचित जिल्ला सदस्यहरुबाट मनोनित गर्ने व्यवस्था छ । निर्वाचित जिल्ला सदस्यको आँकडा हेर्दा क्षेत्र नं. २ ले कोषाध्यक्ष पाउन सक्ने आँकलन गरिएको छ । नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम तय भइसकेको छैन ।
पदस्थापन भएपछि बस्ने कास्की काँग्रेसको नवनिर्वाचित कार्यसमितिको निर्णयले कोषाध्यक्षको टुंगो लगाउने स्रोतले दावी गरेको छ । नवनिर्वाचित जिल्ला सदस्यमध्ये विश्वशंकर पालिखे वा माइकल कर्माचार्य कोषाध्यक्ष मनोनित हुने स्रोतले बताएको छ । यी दुवै क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्य हुन् ।
सभापति पदमा क्षेत्र नं. १ बाट ३ र क्षेत्र नं. ३ बाट २ गरी पाँच जनाले उमेद्वारी दिएकामा मंसिर १० मा भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उमेद्वारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः शनिबार सबैभन्दा धेरै मत ल्याउने किशोरदत्त वराल र सुदिपमोहन भट्टराईबीच मतदान भएको थियो ।
पहिलो चरणको चुनावबाट आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतम चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका थिए । दोस्रो चरणको मतदानमा वरालले ८० मतअन्तरले भट्टराईलाई पछि पार्दै कास्की काँग्रेसको सभापतिमा चुनिएका थिए ।
कास्कीमा रहेका दुई हजार ८८ क्षेत्रीय प्रतिनिधिमध्ये दोस्रो चरणको निर्वाचनमा १९ सय २६ जनाले भाग लिएका थिए । तीमध्ये मतमध्ये बरालको पक्षमा ९९५ र भट्टराईको पक्षमा ९१५ जनाले मतदान गरेका थिए ।
तुलनात्मक रुपमा क्षेत्र नं. २ मा नेता कम छन् । धेरै नेता रहेको क्षेत्र नं. १ र ३ मा गुटबन्दी धेरै छ । लामो समयसम्म कास्की काँग्रेसको नेतृत्व क्षेत्र नं. ३ कै कब्जामा रह्यो । जसको वागडोर नेता शुत्रराज शर्माले सम्हालेका थिए । शुत्रराज शर्माको सचिव र उपसभापति रहँदै आएका क्षेत्र नं. १ का नेता यज्ञबहादुर थापा ११ औं महाधिवेशनमा सभापतिमा विजयी भएपछि कास्की काँग्रेसको नेतृत्व क्षेत्र नं. १ मा पुगेको थियो ।
११ औं महाधिवेशनमा थापासँग क्षेत्र नं. १ कै ठाकुर कँडेलले प्रतिस्पर्धा गरेका थिए । यसअर्थमा ११ औं अधिवेशनमा कास्की ३ ले क्षेत्र नं. १ लाई नेतृत्व सर्वसम्मत दिएको देखिन्छ । यद्यपि १२ औं महाधिवेशनमा यज्ञबहादुर थापा, राचन्द्र त्रिपाठी र पोषनाथ शर्माको त्रिपक्षी भिडन्तमा कुनै पनि नेताले ५० प्रतिशत मत पाउन नसकेपछि पहिलो र दोस्रो हुने क्रमशः थापा र त्रिपाठीबीच दोस्रो चरणको निर्वाचन भएको थियो भने शर्मा पहिलो चरणमा रिङआउट भएका थिए । तर शुक्रराजको हस्तक्षेपमा आफ्नै क्षेत्रका नेता त्रिपाठीलाई समर्थन नगरी थापालाई समर्थन गरेपछि क्षेत्र नं. ३ ले कास्की काँग्रेसको नेतृत्व गर्ने अवसर चुकाएको थियो ।
१३ औं महाधिवेशनमा कृष्ण केसीसँग आफै भिडेका शुक्रराज शर्माको लज्जाजनक हार हुँदा कास्की काँग्रेुसको नेतृत्व १ नं. क्षेत्रमै कायम रह्यो । १४ औं महाधिवेशनमा शुत्रराज शर्मा समूह आइबहादुर गुरुङ र पोषनाथ शर्मा गुटमा चोइटिए पछि क्षेत्र नं. ३ पहिलो राउन्डमै रिङआउट भएको थियो ।
नेपाली काँग्रेस कास्कीको १४ औं महाधिवेशनमा उमेद्वारहरुले प्राप्त गरेको मत परिणाम यसप्रकार रहेको छः









सम्बन्धित खवर
















