२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
पर्यटन

नवलपरासीको पीठौली: संरक्षणसँगै पर्यटनमा जोडिँदै जटायु रेष्टुरेण्ट

वासुदेव पौडेल
नवलपरासी । प्रकृतिको कुचिकार गिद्धको संरक्षणको उद्देश्यका साथ नवलपरासीको पीठौलीमा सन् २००६ मा स्थापित जटायु रेष्टुरेण्टलाई यतिखेर पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न लागिएको छ ।

गिद्धका साथै चराहरूको अध्ययन एवं पर्यापर्यटनमा रुची राख्नेका लागि यो स्थान पुग्नै पर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा नै पहिलोपटक सन् २००६ मा नवलपरासीको पिठौलीमा समुदायद्वारा विश्वकै पहिलो ‘जटायु रेष्टुरेण्ट’ स्थापना गरिएको थियोे ।

लोपोन्मुख गिद्धलाई विषादीरहित भोजन उपलब्ध गराइ संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएको यो रेष्टुरेण्ट चरापर्यटनका साथै पर्यापर्यटनको रुचि राख्नेका लागि पनि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको संरक्षणकर्मी एवं नवलपरासी जटायु रेष्टुरेण्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले जानकारी दिनुभयो ।

रेस्टुरेण्टको स्थापनासँगै गिद्धको सङ्ख्या बढेको जानकारी दिँदै उहाँले देश विदेशका विभिन्न स्थानबाट गिद्धका क्रियाकलाप अवलोकन एवं अनुसन्धान गर्न पर्यटक आउन थालेको बताउनुभयो । विगत दुई दशकयता गिद्ध घट्ने क्रम बढिरहेको अनुसन्धानले देखाएको छ । गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको संरक्षणकर्मी बताउँछन् । पछिल्लो समयमा गाईवस्तु पाल्ने क्रम पनि अत्याधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा उनीहरूको आहारामा समस्या थपिने गरेको छ ।

अध्ययन अनुसार डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेको छ । औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई विसं २०६३ जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाइ त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ ।

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका पाइन्छन् । नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । हिउँदको समयमा आउने लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । राज गिद्ध पाकिस्तान एवं किर्किस्तानबाट आउने गरेका छन् ।

सङ्ख्यात्मक रुपमा नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या १० हजार, डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ । त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँच÷पाँच सयको सङ्ख्यामा पाइन्छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारीमा रहेको अध्ययनले देखाएको छ । बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धाकर्ता बताउँछन् । गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रूख हो । गिद्धहरू सिमलका रूखमा बस्ने तथा गुण लगाउने गर्दछन् । पछिल्ला समयमा बस्ती तथा फाँटमा रहेका सिमलका रूख काटिँदा पनि उनीहरू समस्यामा पर्ने गरेको संरक्षणकर्मी चौधरीको भनाइ छ ।

आफ्नो बासस्थान नै हराउँदै जानुका साथै बढ्दो बस्ती विकास, धुलोधुवाँ लगायतका कारण पनि यिनीहरू संकटमा पर्दै अर्का संरक्षणकर्मी यामबहादुर नेपालीले बताउनुभयो । विगत १६ वर्ष यता रेष्टुरेण्टमा गिद्धलाई खाना खुवाउने काममा आफू लागि रेहको बताउँदै नेपालीले यिनीहरूको संरक्षण पर्यावरण जोगाउननका लागि पनि आवश्यक भएको बताउनुभयो ।

विभिन्न अनुसन्धाता जटायु रेष्टुरेण्टमा पुगी गिद्धका क्रियाकलापको अवलोकन गर्ने गरेको बताउँदै उहाँले संरक्षणसँगै यो स्थललाई पर्यटनसँग जोड्ने प्रयास गरिएको बताउनुभयो । सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचीकारका रुपमा संरक्षण गर्नु जरुरी रहेको नेपालीको भनाइ छ ।

पछिल्ला समयमा गिद्धको संरक्षणका लागि नवलपरासीसँगै रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजनौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको रामधुनीलगायत स्थानमा यस्ता रेष्टुरेण्ट स्थापना गरिएका छन् । नवलपरासीको जटायु रेष्टुरेण्टमा उमेर पुगेका र छाडा चैपायाको संरक्षण पनि गर्ने गरिएको छ । यहाँ राखिएको गौशालामा किसानबाट उमेर पुगेका, अशक्त, बेकामी गाईवस्तु सङ्कलन गरी पालनपोषण गर्ने गरिएको छ । गाईगोरुको प्राकृतिक मृत्युपश्चात् गिद्धको आहारका लागि निश्चित स्थानमा राखिने र त्यहाँ गिद्ध आएर खाने गर्दछन् । गिद्धको आनीबानी नजिकबाट लुकेर अवलोकन गर्नका लागि पर्यटक अवलोकन घर पनि बनाइएको उहाँले जानकारी दिनुभयो ।

नवलपरासीको जटायु रेष्टुरेण्टलाई पर्यापर्यटन एवं चरा पर्यटनमा रुची राख्नेका लागि जानै पर्ने गन्तव्यका रुपमा विकास गर्न सकिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो । नेपाल पर्यटन बोर्डले पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर स्वर्ण त्रिकोणको अवधारणाका साथ पर्यटन प्रवद्र्धन गर्न लागेको उल्लेख गर्दै उहाँले यस आसपासमा जोडिएका जटायु रेष्टुरेण्ट जस्ता धेरै गन्तव्यलाई समेट्न सकिने बताउनुभयो । (रासस)

Read more

फ्लाई दुबईबाट सिधै पोखरा ओर्लिए विदेशी टिकटकर्स, स्वागतले भए दंग

पोखराको पर्यटन विश्वभर चिनाउन सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपालमा, विदेशी पाहुनालाई पोखरा विमानस्थलमै भव्य स्वागत पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पाहुनाको आगमनसँगै पर्यटन प्रवर्द्धनको नयाँ उत्साह…

६६ वर्षपछि आफ्नै गाउँमा धवलागिरि दिवस : मुदीबाट विश्वलाई हिमालको सन्देश

टंकराज अधिकारी । धवलागिरि हिमाल मा मानव पाइला परेको ६६ वर्षपछि पहिलोपटक यसको आरोहण दिवस हिमालकै काखमा मनाइएको छ। वर्षौंदेखि पोखरा र काठमाडौंमा सीमित रहने कार्यक्रम यसपटक धवलागिरि…

फेवा महोत्सवमा पर्यटक दौड

पोखरा, ३० चैत । पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन्…

आन्तरिक पर्यटन प्रवर्द्धनमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न, कनेक्टिभिटी विस्तारमा जोड

पोखरा, १४ चैत — आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटक आदानप्रदान र यातायात कनेक्टिभिटी सुदृढ गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘जाउँ है पोखरा’ अभियान शुक्रबार मकवानपुरको हेटौंडामा समापन गरिएको छ। चैत…

पोखरा भ्रमणको विशेष निम्तोसहित पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सक्रिय

नेपालको औद्योगिक केन्द्र विराटनगर का बासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको विशेष निम्ता दिँदै ‘जाउँ है पोखरा’ अभियान पूर्वी नेपालमा सक्रिय बनेको छ। करिब २५ वर्षदेखि निरन्तर सञ्चालन हुँदै…

घान्द्रुक पर्यटन महोत्सवको पूर्वसन्ध्यामा पोखरामा च्यारिटी डिनर, ९ लाखभन्दा बढी आर्थिक संकलन

पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६ देखि ९ गतेसम्म आयोजना हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ। घान्द्रुक पर्यटन…