घान्द्रुक पर्यटन महोत्सवको पूर्वसन्ध्यामा पोखरामा च्यारिटी डिनर, ९ लाखभन्दा बढी आर्थिक संकलन
- January 8, 2026
- 396

पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६ देखि ९ गतेसम्म आयोजना हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ।
घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त आयोजनामा सम्पन्न च्यारिटी डिनर कार्यक्रममा ९ लाख ६ हजार ६ सय रुपैयाँ आर्थिक संकलन भएको रोधीं क्लब घान्द्रुकका उपाध्यक्ष अमृत गुरुङले जानकारी दिए।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार महोत्सव अवधिभर खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, घोडा दौड, रस्साकस्सी, छेलो प्रतियोगितासँगै विविध सांस्कृतिक प्रस्तुतिहरू महोत्सवका आकर्षण रहनेछन्।

रोधीं क्लब घान्द्रुकका अध्यक्ष लक्षिन गुरुङले च्यारिटी डिनर कार्यक्रमले आर्थिक संकलनसँगै विभिन्न स्थानमा बसोबास गर्दै आएका आफन्त, इष्टमित्र र शुभेच्छुकबीच भेटघाट, छलफल तथा भलाकुसारीको अवसर प्रदान गरेको बताए।
‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आयोजना हुन लागेको घान्द्रुक पर्यटन महोत्सवलाई सफल बनाउन रोधीं क्लब र घान्द्रुक पर्यटन व्यवस्थापन समितिले संयुक्त रूपमा कार्यक्रमहरू अघि बढाइरहेको उनले स्पष्ट पारे।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा एकैदिन २ हजार ५ सयभन्दा बढी पर्यटकलाई आतिथ्य दिने क्षमता रहेको छ। यहाँ ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा छन्।
पोखराबाट साढे दुई घण्टाको सवारी यात्रामा पुग्न सकिने घान्द्रुक पर्यटकका लागि महत्वपूर्ण गन्तव्य हो। यहाँबाट भैसीखर्क–टाडापानी–वनठाटी–देउराली हुँदै म्याग्दीको घोडेपानी, टाडापानी–इसर–दोबाटो–मुल्डे हुँदै खोर्पा लेक तथा हिडन लेक जान सकिन्छ। यस्तै, घान्द्रुक हुँदै अन्नपूर्ण बेस क्याम्पको यात्रा समेत गर्न सकिने पर्यटन व्यवस्थापन समितिले जनाएको छ।






सम्बन्धित खवर















