अर्मलामा हुने नवज्योतिको फागुमेलामा नेता गुरुङद्वारा प्रथम पुरस्कार प्रायोजन
- March 8, 2022
- 5508

पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ अर्मला कालीमूढास्थित नवज्योति युवा क्लबले फागुपूर्णिमाको अवसरमा चैत्र २ गते विशेष खेलकूद एवं साँस्कृतिक मेला गर्ने भएको छ । क्लबद्वारा आयोजित यो सातौं संस्करण हो । कोभिड–१९ का कारण यसअघि दुई संस्करण कार्यक्रम स्थगित गर्नुपरेको क्लबका अध्यक्ष वैंश गुरुङले बताए ।
उनका अनुसार मेलामा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै वडास्तरीय भलिबल प्रतियोगिता समावेश गरिएको छ । ‘चैत्र १ गतेसम्म भलिबल प्रतियोगीहरुलाई टिम दर्ता गर्न आव्हान गरेका छौं । त्यसपछि टाइसिट निकालेर खेल खेलाउँछौं । त्यसैले अहिले नै यति टिम सहभागी हुन्छन् भनेर जानकारी दिने अवस्थामा छैनौं,’ उनले भने ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. ३० हजार, शिल्ड र मिडेल तथा द्वितीय हुने टिमलाई नगद रु. २० हजार, शिल्ड र मेडल प्रदान गरिने आयोजक क्बलले बताएको छ ।
यसैबीच नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि पदमसिंह गुरुङले प्रथम पुरस्कारको प्रायोजन गरेका छन् । नेपाली काँग्रेसको टोल कार्यसमिति गठन कार्यक्रममा सहभागी हुन मंगलबार तुम्के खेल मैदानमा पुगेका नेता गुरुङले क्बलका अध्यक्ष वैंशा गुरुङलाई रु. ३० हजारको चेक हस्तान्तरण गरे ।
चेक रकम हस्तारणपछि पोखरा भ्यूससँग संक्षिप्त कुराकानी गर्दै नेता गुरुङले खेलकूदको विकासका लागि आफू सधैं तत्पर रहेको बताए । ‘२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको प्रत्यासी हुँदादेखि नै अर्मलासँग गहिरो सम्बन्ध स्थापित भएको छ । झिनो मतले चुनावमा हारें पनि अर्मलावासीको सद्भावप्रति मेरो उच्च सम्मान छ । आगामी चुनावमा पनि म काँग्रेसको एजेण्डा बोकेर तपाईहरूको आर्शिवाद लिन अर्मला आउने इच्छा छ,’ उनले भने ।
गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा प्रत्यासी बनेका नेता गुरुङ झिनो मतले पछि परेका थिए ।
त्यस्तै समाजसेवी राजु गुरुङले पनि द्वितीय पुरस्कारको प्रायोजन गर्दै क्लबलाई रु. २० हजार रुपियाँ सहयोग गरेका छन् । त्यसक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङले रु. १० हजार, नेपाली काँग्रेस पोखरा १६ का सचिव एवं मातृशिशु अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापाले रु. पाँच हजार सहयोग गरेका थिए ।






सम्बन्धित खवर















