8Shares

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच तालमेल गर्न वार्ता समिति गठन गरेको छ ।

यसअघि पार्टी केन्द्रीय समितिले गठबन्धमा रहेका दलहरुबीच तालमेल गर्ने गरी काम गर्न परिपत्र जारी गरेको थियो । सोही परिपत्रको मर्मानुसार प्रदेश समितिको पूर्ण बैठकले सभापति शुक्रराज शर्माको संयोजक रहेको वार्ता टोली गठन गरेको प्रवक्ता माधव बाँस्तोलाले जानकारी दिएका छन् । यद्यपि समितिले भने पूर्णता नपाएको स्रोतले बतायो ।

यस अघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशमा कांग्रेसले धेरै सिटमा जित हासिल गरेको थियो । कार्यकर्ता तहमा भने गठबन्धनको बिरुद्वमा उम्मेद्वारी दिने चर्चा समेत चलेको छ ।

बैठकले यसअघि गठबन्धनमा रहेका दलहरुसँग भएका दुई चरणमा भएको वार्ताबारे केन्द्रीय समितिलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।
बैठकले प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा गण्डकी प्रदेश स्तरीय प्रचार तथा अनुगमन समिती गठन गरेको छ । तथापि उक्त समितिले समेत पूर्णता पाएको छैन ।

त्यस्तै अर्का महामन्त्री बिष्णु प्रसाद लामिछानेको संयोजकत्वमा गठित प्रदेश निति निर्माण समितिबाट तयार पारिएको स्थानीय निर्वाचन केन्द्रित नीति बैठकमा पेश गरी छलफल भएको थियो । छलफलमा नीतिको थप अध्ययन गरी अन्तिम रुप दिने अख्तियारी भने पदाधिकारीलाई दिइएको छ ।

बैठकले पदाधिकारी तथा सदस्यहरुको लेवी समेत निर्धारण गरेको छ । त्यस्तो लेवी पदअनुसार निर्धारण गरिएको छ । यद्यपि लेवीको निर्धारण के कति गरिएको छ भन्नेबारे थप कुरा सार्वजनिक गरिएको छैन । बैठकले यसअघि गरिएका प्रदेश कार्यसमिति सदस्यको मनोनय र विभिन्न विभाग गठनको निर्णयलाई अनुमोदन गरेको छ ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected