
कास्की । पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १०० दिन पूरा गरेको अवसरमा पत्रकार भेटघाट कार्यक्रम गरी नगर प्रमुख धनराज आचार्यले उपलब्धि सार्वजनिक गरेका हुन्।
यस अवधिमा १०० बढी महत्त्वपूर्ण कामहरूको सुरुवात गरिएको प्रमुख आचार्यले जनाए । उनका अनुसार पोखरा महानगरपालिकाको समग्र विकासका लागि आफ्नो नेतृत्वमा नवीनतम प्रयासहरू समेत थालिएका छन् भने, उज्यालो पोखरा अभियानदेखि सेवा प्रवाहमा एकद्धार प्रणाली सञ्चालन गरिएको छ ।
जनगुनासो सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रम समेत सञ्चालन गरिएको छ । महत्त्वपूर्ण स्थानका सार्वजनिक जग्गाहरूको विवाद समाधान तथा स्वामित्व फिर्ता, हजारौँको सङ्ख्यामा फलफूलका बिरुवाहरू रोपण, कृषि एम्बुलेन्स सञ्चालन, छात्रवृत्ति प्रदान तथा राहत/उपचार सहयोग तथा सिफारिस लगायत कामहरू यस अवधिमा सम्पन्न गरिएका छन् ।
साथै विभिन्न दातृ निकाय तथा विदेशका भगिनी सम्बन्ध कायम भएका सहरहरूसँगको साझेदारीमा दीर्घकालीन महत्त्वका योजनाहरूको सम्भाव्यता अध्ययन, डिपिआर निर्माण तथा निर्माण सम्झौता समेत गरिएका छन् ।
कार्यक्रममा उपमेयर मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले मन्तव्य राखेका थिए ।







सम्बन्धित खवर
















