कास्कीमा १६ उम्मेद्वारको उम्मेद्वारी फिर्ता, काँग्रेस नेता गुरुङको उम्मेदवारी कायमै
- October 12, 2022
- 1602

पोखरा । कास्कीमा गठबन्धनका बागी काँग्रेस नेता महादेव गुरुङले प्रतिनिधिसभा उम्मेदवारको उम्मेदवारी कायमै राखेका छन् । उनले गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका हुन् । प्रतिनिधि सभाका लागि गठबन्धन दलबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नम्बर २ का एकीकृत समाजवादीका नेता श्रीनाथ बराल विरुद्ध काँग्रेस नेता गुरूङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।उम्मेदवारी फिर्ता लिने समयसम्म पनि गुरूङले उम्मेदवारी फिर्ता नलिए पछि उनको उम्मेदवारी कायमै रहेको हो । कास्की क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीले टिकट पाएको छ । श्रीनाथ बराल गठबन्धनको आधिकारिक उम्मेद्वार हुन् ।
कास्कीमा अन्य १६ उम्मेद्वारले भने उम्मेद्वारी फिर्ता भएको छ । आफ्नो मनोनयन फिर्ता लिनेमा क्षेत्र नम्बर १ बाट महेन्द्र खत्री, घननाथ सापकोटा र आनन्द सापकोटा रहेका छन् । घननाथ एकीकृत समाजवादीका मादी अध्यक्ष हुन् । उनले गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका थिए । यस्तै, कास्की १ (क) मा उम्मेद्वारी दिएका भरत तिवारी पनि पछि हटेका छन् । उनी नेपाली कांग्रेसका नेता हुन् । १ (ख) बाट दिलमाया मुक्तानको नाम फिर्ता भएको निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
क्षेत्र नम्बर २ बाट अजय विश्वकर्माले मनोनयन फिर्ता लिएका छन् । २ (क) बाट दीपक विश्वकर्मा, इश्वरकुमार गुरुङ र सुन्दर बरालले नाम फिर्ता लिए ।
क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट कास्की निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका रामजी बरालविरुद्ध बागी उम्मेदवारी दिएकी अनिता भुर्तेलले उम्मेदवारी फिर्ता लिइनन् । क्षेत्र नम्बर ३ बाट राजाराम दाहाल, यमकृष्ण पौडेल र जगन्नाथ बास्तोलाको नाम फिर्ता भएको छ । ३ (क) बाट लिलाधर ढकाल, जगतबहादुर गुरुङ र चन्द्रबहादुर गुरुङ तथा ३(ख) बाट चीना दवाडीले नाम फिर्ता लिएका छन् ।







सम्बन्धित खवर
















