4Shares

पोखरा भ्यूज
पोखरा । सत्तारुढ गठवन्धनलाई जिताउन नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ प्रदेश ख ले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । प्रदेश सभा ख स्तरीय भेलामा गठबन्धनलाई भोट किन ? भन्ने सवालमा स्पष्ट पार्ने र सम्पूर्ण कार्यकर्तालाई निर्वाचन प्रचार अभियानमा सहभागी गराउन प्रशिक्षत गरिएको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक राजबहादुर गुरूङले जानकारी दिनुभयो ।

भेलामा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनमा आवद्ध दल र तिनका उमेद्वारलाई जिताउन आवश्यक रहेको बताउनु भएको छ । शर्माले अब टिकट र पार्टीभित्रको आन्तरिक समस्याका बहस छाडेर गठबन्धनका उम्मेद्वारलाई जिताउन आवश्यक रहेको कुरामा जोड दिनु भयो । शर्माले भन्नुभयो, ‘पार्टी भित्रको समस्याका विषयमा निर्वाचन पछि छलफल गरौंला । तर, यो समय भनेको पार्टी र गठवन्धनका उम्मेद्वारलाई जिताउने गरि निर्वाचनमा खटिन आवश्यक छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले संविधान र व्यवस्था बचाउन गठवन्धनले मंसिर ४ को निर्वाचनमा गठबन्धनले जित्न आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकको समृद्धि र स्थायित्वका साथै राजनीतिकस्थिरताका लागि पनि मंसिर ४ मा गठवन्धनका उम्मेद्वारलाई जिताउनुपर्नेमा जोड दिनु भयो । विगतमा दुईतिहाइ बहुमत प्राप्त सरकारले संविधान फ्याक्न, व्यवस्था मास्न उद्धत भएकोले गठबन्धनले राजनीति स्थिरता, संविधानको संरक्षण र देशी विदेशीको विश्वास प्राप्त गर्दै गएको बरालको भनाई रहेको थियो ।

नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ प्रदेश ख निर्वाचन परिचालन समितिका संयोजक राज बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश ख का सभापति जिवनाथ पौडेल शंकर, लोकतांत्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवर, नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरूङ, नेपाली काँग्रेस केन्द्रिय निर्वाचन प्रसारप्रचार समिति सदस्य गंगाधर पराजुली, नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधिद्वय हिरा भट्टराई, उदय नेपाली, गण्डकी प्रदेश सदस्यद्वय जिवन बास्तोला, देवेन्द्र केसी, शिक्षक संघ कास्कीका सचिव राजु क्षेत्री, डिएलए कास्की अध्यक्ष कपिलमणि दाहाल लगाएतले वाम–लोकतान्त्रिक गठबन्धन असंवैधानिक र प्रतिगामी चिन्तनधाराविरुद्ध बनेको शक्ति हो, त्यसको खतरा अझै पनि नेपालको राजनीतिक आकाशमा मडारिइरहेकाले यही गठबन्धनको निरन्तरता जरुरी देख़िएको हुँदा निर्धक भएर गठबन्धनको पक्षमा मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेका थिए  ।

भेलाले क्षेत्र नम्बर ३ संघ तर्फका गठबन्धनका उम्मेदवार नेकपा माओवादीका राम्जी प्रसाद बराललाई हँसियाहथौड़ा र प्रदेश ख का उम्मेदवार नेपाली काँग्रेसका प्रकाश बराललाई रूख चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराउन क्षेत्र नम्बर ३ का सम्पूर्ण मतदातालाई आग्रह गरेको निर्वाचन परिचालन समितिका सचिव शुक्रराज पौडेलले बताउनु भयो ।

गुरूङ र शर्मा अनुपस्थित

नेपाली काँग्रेस कास्कीको राजनीतिमा लामो समयदेख़ि एउटै गुटमा रहेका नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, महाधिबेशन प्रतिनिधिद्वय आई बहादुर गुरूङ र पोषनाथ शर्मा विचको सम्बन्ध अझै सुध्रन सकेको छैन । पाटीको १४औं महाधिवेशनमा जिल्ला नेतृत्वको विषयमा मत भिन्नता भएका तिन नेताहरू प्रायः एकै मंचमा देख़िएका छैनन् ।

यसै सन्दर्भमा कास्की क्षेत्र नम्बर ३ ख को मंगलवार सम्पन्न अगुवा कार्यकर्ता भेलामा प्रदेश सभापति शर्मालाई प्रमुख अतिथि बनाईएपछि गुरूङ र शर्मा सो भेलामा अनुपस्थित रहेको समाचार स्रोतले दावी गरेको छ । तथापि आयोजकले घरायसी कामले उनीहरु कार्यक्रममा उपस्थित हुन नसकेको जनाउ दिएता थिए । तर नेतात्रयबीच आन्तरिक मनमुटावका कारण उनीहरु उक्त कार्यक्रममा अनुपस्थित रहेको स्रोतले बतायो । यद्यपि आइबहादुर र पोषनाथ भने चुनावी प्रसार प्रचार अभियानमा भने सक्रिय रूपमा लागेका छन् ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected