4Shares

पोखरा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काँग्रेस सहितको गठबन्धनका उम्मेदवारलाई गण्डकी प्रदेशमा विजयी गराउने अभियानका साथ जिल्ला दौडाहामा निस्केको नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका पदाधिकारी शनिबार नवलपुर पुगेका छन् ।
काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्मा नेतृत्वको टोलीले नवलपुरका दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी बन्नुका साथै त्यहाँको चुनावी गतिविधि, गठबन्धनको सकृयता र सम्भाव्यता लगायतका विषयमा जानकारी समेत लिएको छ ।
पाँच दलीय गठबन्धन नवलपुर क्षेत्र नं १ द्वारा आयोजित प्रशिक्षण एवम् जिल्ला पार्टी कार्यालयमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संविधानको रक्षासँगै समृद्धि र विकासका लागि काँग्रेस सहितको गठबन्धनका दल एक ठाउँमा भएको स्पष्ट पार्नुभयो । नवलपुरमा थारुको बाहुल्यता रहेको र उनीहरूको पार्टी एवम् राज्यका विभिन्न स्थानमा प्रतिनिधित्व गराउने कुरामा काँग्रेस प्रतिवद्ध भएको उहाँले बताउनुभयो । नवलपुरको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा.शशांक कोइराला, सह महामन्त्री जीवन परियार, प्रदेश सभा(क)का उम्मेदवार महेन्द्रध्वज जिसी लगायतले गठबन्धनको आवश्यकता र महत्व लगायतमा बोल्नुभएको थियो ।
शर्मा नेतृत्वको टोलीमा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला(मधु), प्रदेशका आमन्त्रित सदस्यद्वय शेषरमण न्यौपाने र गणेश न्यौपाने, नेपाल प्रजातान्त्रिक(लोकतान्त्रिक)उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, महासचिव ईश्वरप्रसाद कर्माचार्य, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण कोइराला, विशाल पौडेल, दीपक भट्टराई, कुमार शर्मा, लगायतको सहभागिता थियो । उक्त अवसरमा काँग्रेस गण्डकी प्रदेश समितिले जिल्ला पार्टी कार्यालय नवलपुरका लागि ४०० थान झण्डा र गण्डकी प्रदेशको संकल्पपत्र ५०० थान हस्तान्तरण गरेको प्रवक्ता माधव वास्तोलाले जानकारी दिनुभयो । अभियान अन्तर्गत यस अघि गण्डकी प्रदेश समिति गोरखा र लम्जुङ जिल्ला पुगेको जानकारी दिदै उहाँले आगामी दिनमा अन्य जिल्लामा जाने कार्यक्रम तय भएको बताउनुभयो ।
यसैबीच नेपाल प्रजातान्त्रिक(लोकतान्त्रिक) उद्योग वाणिज्य संघको नवलपुर जिल्ला समितिको संयोजकको जिम्मेवारी धर्म बस्याललाई दिइएको छ । बस्याललाई गण्डकी प्रदेश पार्टी सभापति शुक्रराज शर्मा, संघका गण्डकी प्रदेश अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले खादा लगाएर बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो । उक्त अवसरमा अध्यक्ष कर्माचार्यले प्रजातन्त्रवादी उद्योग व्यवसायीलाई संगठित गराउँदै उद्योग व्यवसायीको हितमा संघले आफ्ना गतिविधि बढाउने बताउनुभयो । संघका विभिन्न जिल्ला समिति गठन गर्ने क्रममा यस अघि पर्वतमा शिव शर्मा पौडेलको अध्यक्षतामा २५ सदस्यीय समिति र गोरखामा जीवनज्योति श्रेष्ठको संयोजकत्वमा ३२ सदस्यीय समिति गठन गरिएको संघका गण्डकी प्रदेश समितिका महासचिव ईश्वरप्रसाद कर्माचार्यले जानकारी दिनुभयो ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected