0Shares

पोखरा । आगामी मंसिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचनमा उम्मेदवारहरुले विभिन्न एजेन्डा सहित आ-आफ्नो घोषणापत्र तथा प्रतिबद्धतापत्र लिदैँ मतदाताको घरघरै पुग्ने काम गरिरहेका छन् । हरेक क्षेत्रमा विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगार जस्ता विषय उठान भइरहेका छन् । तर, पोखरा महानगरपालिका २० भलामवासिहरु भने पहिरोको त्रासमा दिन काटिरहेका छन् ।
गत वर्ष ठूलो पहिरो जाँदा एकैपरिवारका ३ सदस्यको मृत्यु भएपछि स्थानीयहरुको रातको निद उडिरहेको छ । अहिले विभिन्न दलका उम्मेदवारहरु सपनाको पोको बोकेर घरघरै जाँदा र्‍यालेचौरवासीको एउटै स्वर छ,‘पहिरो न्युनिकरणका लागि कंक्रिट ड्याम बनाइदेउ ।’
७१ वर्षिय फणिन्द्र शर्माले आफ्नो ठाउँमा अब पहिरो नियन्त्रणको काम भइदिए खुसी हुने बताउँछन् । हरेक पटक पहिरोको त्रासमा बस्न बाध्य भएको र आफुहरुको पहिलो माग भनेकै पहिरो नियन्त्रण रहेको सुनाए ।
‘बाढी गयो भने पहिला मेरो घर नै लान्छ । पहिला यहाँबाट(बाटोतर्फ) डाइभर्ट भएर जाँदा जोगियो । सोझै गएको भए मेरो घरमा जान्थ्यो’ उनले भने,‘वायो इन्जिनियरले भनेअनुसार यहाँ कंक्रिट ड्याम बनाइदियोस भन्ने हाम्रो चाहाना छ । यहाँ रहेका बासँ, निगालो के सार्न पर्छ हामी सार्छौ । तर पहिरो रोकथामका कुराहरु त हाम्रो श्रमदानले सकिदैन । हाम्रो माग भनेको यहाँबाट (काहुँडाडाँबाट झर्ने) आउने दुई बर्खेखोलाको पानीको उचित निकासा होस भन्ने हाम्रो माग छ ।’ उक्त स्थानमा करिब ३७/३८ घर रहेका छन् ।
अनिल कुमार रानाले हरेक वर्ष पहिरोको ठूलो जोखिम भलाम पर्ने गरेको उनले बताए र खहरेखोलामा हरेक वर्ष निकै क्षति पुर्‍याउने गरेको उनले बताए । पहिरोकै कारण भिरचिरिएको र पानी परेको समयमा ठूलो क्षति पुर्‍याउने गरेको सुनाए । यसका लागि उचित काम गरिदिन आग्रह गर्छन् ।
स्थानीय कालीप्रसाद पौडेलले त्यतिबेला पहिरोबाट जोगिएको स्मरण गर्दै पहिरो नियन्त्रणकाल लागि ठूलो योजना ल्याउनुपर्ने बताउँछन् । यो ठाउँ अब सुरक्षित छैन् कतिबेला पहिरो जाने हो डर छ । बर्खामा मात्रै होइन् सुख्खा पहिरो पनि खस्छ की भन्ने डर लाग्छ’ उनले भने । उनका अनुसार हरेक पटकको निर्वाचनमा उम्मेदवार विकासका योजना लिएर आउने गर्छन् । तर आफुहरुलाई विकास भन्दापनि जिवन बचाउने काम प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

‘गत भदौ १६ गते ठूलो वर्षा भएको थियो । रातको १२ बजे मलाई एक शिक्षकले फोन गर्नुभयो सर ! धेरै ठूलो पानी पर्‍यो चारैतिरबाट आवाज आएको छ ।’ २०७८ सालको पहिरो सम्झैछु भने,‘ सुरक्षित रहनुहोला है यता पहिरो आयो भनेर मेरै घरको माथिपट्टिको घरकाले जानकारी दिनुभयो । र म बाहिर निस्केँ त्यहाँ रहेको खोल्सामा पानी बढेको रहेछ । मैले आसपास रहेका छिमेकीलाई लिएर हेर्न पुगे । जादा एक्कासी ठूलो आवाज आयो । अनि हामी धानखेत हुँदै भाग्दा बाच्यौँ । दायाबायाँबाट हिड्न लागेको भए धानखेत नपसेको भए ८ जना बाच्ने थिएनौँ सेकेन्डभरले हामी बाचेका व्यक्ति हौं ।’
अहिलेको चुनाव आएकाले आफुहरुको आशा भनेको पहिरो जोखिम रहेका स्थानमा ड्याम बनाउने रहेको उनको भनाइ छ । यतिमात्र होइन् उनी आफै उपभोक्ता समितिको अध्यक्ष भएर पहिरो जोखिम न्युनिकरणका लागि जग्गा उपलब्ध गराएर ढलान बाटो बनाउने काम समेत गरे । स्थानीयको दल र बलले भ्याएसम्मका काम गरेपनि नीतिगत रुपमा ठूलो लगानीसहितको काम भने सरकारले गर्नुपर्ने उनको भनाइ छ । योजनागत तरिकाले अघि बढ्न उनी बारम्बार मन्त्रालय समेत धाएका छन् । अहिलेसम्म काम भने हुन सकेको छैन् अब आउने नयाँ उम्मेदवारले काम गर्नेमा आफुहरु आशावादी रहेको सुनाए ।
पहिरोमा परि कृष्ण तामाङ र उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङ र ३ वर्षिय छोरा सन्तोष श्रेष्ठको मृत्यु भएको थियो । सुनमायाको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय श्रेष्ठलाई उपचारका लागि मणिपाल अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । नौ वर्षीय छोरा राजकुमार घाइते भएका थिए । उपचारपछि उनलाई एसोएसमा राखिएको छ ।
विज्ञले भनेअनुसार काम गर्छौ : थापा
स्थानीयको समस्या बुझ्न भलाम पुगेका प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले विज्ञले भनेअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयले पहिरो नियन्त्रण गर्नका लागि आग्रह गरेसँगै उनले आफुले सकेको सहयोग गर्ने बताउँदै विज्ञले जसरी नियन्त्रणका लागि काम गर्न सकिन्छ सोही अनुसार काम गर्ने बताए । ‘यसका लागि विज्ञ टोलीले प्रतिवेदन बनाएपछि काम गर्न सकिन्छ । कसरी के गर्दा ठीक हुन्छ सोही अनुसार जानुपर्छ’ उनले भने,‘अहिले त सम्भव भएन निर्वाचन सकिए लगत्तै काम सुरु गर्छु ।’

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected