पहिलोपटक छोम्रोङ पुगेका प्रदेशमन्त्री गुरुङले भने–‘टेलिस्कोप ल्याएको भए भ्यू हेर्न मज्जा हुने रहेछ’

हरि भट्टराई/पोखरा भ्यूज
२४ फागुन, छोम्रोङ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थयमन्त्री पञ्चराम गुरुङ सोमबार पहिलोपटक कास्कीको पर्यटकीय गाउँ झिनुडाँडा पुगे । छोम्रोङमा नवनिर्मित बौद्ध गुम्बा तथा स्तूपको मंगलबार हुने समुद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका मन्त्री गुरुङ साम्रोङसम्म गाडीमा र त्यसपछि करिब १५ मिनेटको पदमार्गबाट सोमबार झिनुडाँडाको नमस्ते गेष्ट हाउस पुगेर केहीबेर आराम गरे ।
मन्त्री गुरुङका साथमा कास्की क्षेत्र नं. ३ (ख) बाट निर्वाचित सांसद प्रकाश बराल, नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुँवर, नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका आमन्त्रित सदस्य राजबहादुर गुरुङ, युवा नेता ललित गुरुङ समेतको टोली केहीबेरको आरामपछि झिनुडाँडास्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्डमा नुहाउन पुग्यो । र, करिब एक घण्टा तातोपानीमै बितायो । मन्त्रीसमेतको टोली तातोपानीमा नुहाउँदै गर्दा मौसममा बदली भई हल्का वर्षासमेत भइरहेको थियो । ‘तातोपानीमा नुहाउँदा बडो मज्जा आयो,’ मन्त्री गुरुङले भने, ‘तातोपानीको कुण्डमा डुवेर यस्तो मज्जा जीवनमै पहिलोपटक लिदैं छु ।’
तातोपानी कुण्डमै रहेका बेला मन्त्री टोलीबीच राष्ट्रपति निर्वाचनबारे पनि छलफल चल्यो । ‘मन्त्रीज्यू तपाईको पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा आफ्ना सांसदलाई स्वतन्त्र छोडी दिने चर्चा सुनेको छु । एउटा डेमोक्रेटिक पार्टीले अर्को डेमोक्रेटिक पार्टीलाई सहयोग गर्नुपर्छ,’ प्रदेश सासंद बरालले आफ्ना नेता रामचन्द्र पौडेललाई मत माग्दै भने । सांसद बरालको अनुरोधमा मन्त्री गुरुङ सकारात्मक देखिए । ‘रामचन्द्रज्यूले पनि ३/४ पटक एसएमएस गरेर मत मागी सक्नुभएको छ,’ उनले भने ।
तातोपानीको मज्जा लिएर मन्त्री समेतको टोली पुनः नमस्ते गेष्टहाउस फर्किएर बास बस्यो । र, भोलिपल्ट बिहानै उठेर छोम्रोङतर्फ अघि बढ्यो । करिब एक घण्टाको हिंडाईपछि तउलुडाँडामा विश्राम लिएका मन्त्री गुरुङले उरीतिर फर्किएर हेर्दै भने, ‘यति राम्रो ठाउँ छ भन्ने लागेको भए टेलिस्कोप लिएर आउँथे । टेलिस्कोपबाट भ्यूज हेर्न पाएको भए अझै मज्जा आउने रहेछ । तर टेलिस्कोप घरमै छुट्यो ।’
तउलुडाँडा पार गर्दै मन्त्री गुरुङको टोली केही बेरपछि नै छाम्रोङको एक्सलेन्ट भ्यू लजमा पुगेर फोटोसुटमा अभ्यस्त देखिन्छ । मन्त्रीको टोली इन्टरनेशनल होटल एण्ड लजको आगनमा बसेर अन्नपूर्ण साउथ, हिउँचुली, गंगापूर्ण, माछापुच्छ्रे समेतको अन्नपूर्ण हिमशृङ्खलाको दृश्यपानमा मग्न थियो । ‘मैले त माथि डाँडोमा समथर भूभागमा होला । बीचमा राम्रो बाटो र बाटोको तल र माथि ढुङ्गेनी घरहरू होलान् भन्ने कल्पना गरेको थिएँ । तर मैले सोचेको भन्दा वास्तविक छोम्रोङ भिन्दै र धेरै सुन्दर रहेछ,’ पहिलोपटक छोम्रोङ गाउँ पुगेका मन्त्री गुरुङले भने ।
स्वास्थ्य चौकीको निरीक्षण
मन्त्री गुरुङले बाटोमै रहेको छाम्रोङ उपस्वास्थ्य चौकीको समेत निरीक्षण गरे । स्वास्थ्य चौकी निरीक्षणका क्रममा प्रदेश सांसद प्रकाश बराल पनि साथै थिए । मन्त्री गुरुङले त्यहाँको समस्या र औषधिको उपलब्धताबारे जिज्ञासा राखेका थिए । तर त्यहाँ कार्यरत स्टाफ नर्स रुविना गुरुङले औषधिको अभाव नरहेको जानकारी गराइन् ।
निरीक्षणकै क्रममा मन्त्री गुरुङ र सांसद बरालले आ–आफ्नो रक्तचाप पनि परीक्षण गराए । मन्त्रीले गुरुङले विकट गाउँमा स्वास्थ्य चौकीको पूर्वाधार राम्रो रहेकोमा खुशी व्यक्त गरे । उनले स्वास्थ्य चौकी भवन सँगै रहेको अन्नपूर्ण संरक्षण आयोजना (एकयाप) को चेकपोष्ट कार्यालयको समेत निरीक्षण गरेका थिए ।
त्यसक्रममा उनले छोम्रोङमा अस्थायी इलाका प्रहरी चौकी आवश्यक रहेको औंल्याए । ‘पर्यटकहरुको सुरक्षाका लागि समेत यहाँ अस्थायी इलाका प्रहरी चौकी आवश्यक देखियो,’ उनले भने, ‘त्यसबारे गण्डकी प्रदेश सरकारसँग माग गर्नुहोला, म समन्वय गर्छु ।’ तर छोम्रोङमा अस्थायी इलाका प्रहरी चौकीबारे यस अघि नै माग भएको थियो । तर कोभिड–१९ को महामारीले त्यसको कार्यान्वयन हुन नसकेको सेन्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए ।
गुम्बा र स्तूपको उद्घाटन
स्थानीय र दाताको सहयोगमा छोम्रोङ गाउँमा नवनिर्मित गुम्वा र स्तूपको मन्त्री गुरुङले मंगलबार एक समारोहबीच समुद्घाटन गरेका छन् । उनले चन्दादाता र जग्गादातालाई सम्मान गर्दै जनस्तरबाट भएको सत्कर्मको मुक्तकण्ठले प्रशंसा गरे । ‘टाठाबाठा भएको ठाउँमा ९० प्रतिशत राज्यबाट अनुदान लिएर १० प्रतिशतमात्र जनश्रमदान गरेर योजना सम्पन्न गरेको देखेको छु,’ समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने ‘तर तपाईँहरुले सरकारबाट १० प्रतिशत अनुदान लिएर ९० प्रतिशत आफैंले स्रोत जुटाएर भव्य योजना सफल बनाउनु भएछ । यो उदाहरणीय कार्य हो ।’ मन्त्री गुरुङले गुम्बामा थप केही समस्या भए आफ्ना माग लिएर आउन स्थानीयसँग अनुरोध पनि गरे ।

प्रदेश सांसद प्रकाश बरालले पर्यटकीय क्षेत्रमा गुम्बा तथा स्तूपको निर्माण कार्यले धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । कार्यक्रममा पूर्वमन्त्री प्रकाशबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं. १० र ११ का वडाध्यक्षहरु गौतम गुरुङ र हिमबहादुर गुरुङ, नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुँवर, धर्मकाय बुद्ध मण्डलाका उपाध्यक्ष राजबहादुर गुरुङ, तमु प्येल्हु संघका पूर्वअध्यक्ष कप्तान रुपबहादुर गुरुङ, तमु छोंजधिका पूर्वअध्यक्ष खड्कबहादुर गुरुङ, धर्मगुरु गुप्ती लामा, समाजसेवी प्रेम गुरुङ, गुम्वा निर्माण समितिका अध्यक्ष नजरमान गुरुङ, छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङ लगायतका वक्ताहरुले गुम्वा तथा स्तूप निर्माणका विभिन्न आयामबारे चर्चा गरेका थिए ।

करिब एक करोड लागतमा निर्माण गरिएको उक्त गुम्बा तथा स्तूप निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाबाट रु. ११ लाख रुपियाँ आर्थिक सहयोग प्राप्त भएको थियो भने अन्य रकम चन्दादातबाट प्राप्त भएको हो । गुम्बा निर्माणका लागि स्थानीय समाजसेवी मोहन गुरुङ र उनको परिवारले जग्गा समेत दान गरेको थियो ।





























