
पोखरा । नेपाल निजामती कर्मचारी यूनियन कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार पोखरामा एक कार्यक्रमको आयोजना गरी यूनियनले आउँदै गरेको नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान साथसाथै क्यालेण्डर विमोचन, बधाई एवं सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
कर्मचारी यूनियन कास्कीका अध्यक्ष शुरेशकुमार श्रेष्ठको अध्यक्षता र नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको प्रमुख आतितथ्यतामा सम्पन्न कार्यक्रममा अन्यन्त्र जिल्लाबाट सरुवा एवं लोकसेवा उत्तीर्ण गरी नयाँ सेवा प्रवेश गरेकालाई सम्मान, बढुवा भएकालाई बधाई र अन्यन्त्र जिल्लामा सरुवा भई गएकालाई विदाई एवं सुवेच्छुक संस्थामा निर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालले जनताको काम गरेर पार्टीलाई बलियो बनाउन कर्मचारी युनियनलाई आग्रह गरेका थिए । उनले कर्मचारी स्थायी सरकार रहेको जनाउ दिदै राजनीति विचार र आस्थाभन्दा पनि कामका आधारमा कामलाई बढी महत्व दिएर सेवाग्राहीलाई राम्रो व्यवहार गरी संगठनको पहिचान गराउन कर्मचारीलाई अनुरोध गरेका थिए ।
यसैगरी गण्डकी प्रदेश सभा सदस्यद्वय सरस्वती गुरूङ र प्रकाश बरालले संविधानअनुसार निर्माण भएका प्रदेश संरचनालाई सफल कार्यान्वयनका लागि प्रदेश तहमा कार्यरत कर्मचारीको महत्वपूर्ण भूमिकका हुने बताउदै जनताका पक्षमा ईमान्दार भएर काम गर्न अनुरोध गरेका थिए ।
त्यस्तै नेपाली कांग्रेस कास्कीका उपसभापति एवं अन्नपूर्ण गाउँपालिका कास्कीका निवर्तमान अध्यक्ष युवराज कुँवर, माछापुछ्रे गाउँपालिका कास्कीका उपाध्यक्ष सिता अधिकारीले स्थानीय तहमा कार्यरत कर्मचारीले ऐन र कानूनविपरीतको काम नगर्न कर्मचारीलाई सुझाव सहित कर्मचारी संयन्त्रले अब आशा जगाउने काम गर्नु पर्ने बताउदै सुशासन र नैतिकतामा ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष पुरण गुरूङ, नेपाली कांग्रेस, गण्डकी प्रदेशका प्रचार बिभाग प्रमुख रमेश पौडेल, नेपाली कांग्रेस कास्कीका सह–सचिव नविन सिग्देल, कर्मचारी युनियनका केन्द्रिय सदस्य चित्रा ढकाल, कृष्ण अर्याल, निवर्तमान संयोजक एवं केन्द्रिय उपाध्यक्ष शिव शर्माअधिकारी, प्रदेश उपाध्यक्ष अर्जुन गुरूङ, आधिकारिक ट्रेड यूनियन कास्कीका अध्यक्ष भरत भुषाल, यूनियनका निवर्तमान अध्यक्ष डार्विन लम्साल, कास्कीका उपाध्यक्ष सिता बराल ढुङगाना, सह-सचिव जिवनाथ शर्मा मरासिनी लगाएतले कर्मचारीको मनोबल उच्च हुने खालको काम सरकारले गर्न नसकेको बताए ।







सम्बन्धित खवर
















