
टंकराज अधिकारी
११ भदौ, घान्द्रुक । पर्यटकीय घान्द्रुक गाउँका पाखाभरि निकम्बा बनेको तीतेपाती अब भने उपयोगमा आउने भएको छ । स्थानीयले करिब १ करोड़को लगानीमा घान्द्रुकस्थित उरीमा तितेपाती प्रशोधन केन्द्र स्थापना गर्ने भएपछि निकम्बा बनेको तीतेपाती उपयोगमा आउने भएको हो । प्रशोधन केन्द्रले तीतेपातीबाट तेल उत्पादन गर्न लागेपछि स्थानीयहरु समेत उत्साहित भएका छन् ।
हिमालय एग्रो तथा जडिबुटी बहुउद्देशिय कृषक समुह, घान्द्रुकले तीतेपातीलाई प्रशोधन गरी सुगन्धित तेल उत्पादनको तयारी थालेको छ । तेल उत्पादनका लागि कच्च पदार्थका रुपमा प्रयोग हुने तीतेपाती गाउँमै प्रशस्त रहेको विज्ञहरुको भनाई छ । ‘एकपटक काटेको तीतेपाती तीनमहिनामा पुनः काट्न योग्य हुन्छ,’ कृषि बैज्ञानिक डम्बर गुरुङले भने ।
वर्षमा ४ पटकसम्म काट्न पाइने भएपछि प्रशोधन केन्द्रलाई आवश्यक पर्ने तीतेपाती प्रयाप्त हुने भएकाले तेल उत्पादनमा कमी नहुने कृषि बैज्ञानिक गुरुङको भनाई छ । उनका अनुसार पाँच सय किलो तीतेपातीबाट १ लिटर तेल उत्पादन हुन्छ ।
गाउँमै तीतेपाती प्रशोधन केन्द्र स्थापना भएपछि निकम्बा बनेको तीतेपाती प्रति के जी ४ रुपियाँमा बिक्री हुने भएको छ । प्रशोधन केन्द्रले गाउँमै रोजगारीको सिर्जना समेत भएको सञ्चालक समितिका सदस्य ललित गुरुङले बताए ।
नेपालमा १२ प्रकारको तितेपाती पाइने तितेपाती बिज्ञ डम्मर बहादुर गुरूङ बताउँछन् । स्थानीय समेत रहेका गुरूङले भने, ‘तीमध्ये दुई प्रकारका तितेपातीबाट तेल निकाल्न सकिँदैन, घान्द्रुकमा तीन प्रकारका तितेपाती रहेको र ती सबैबाट राम्रो तेल निकाल्न सकिन्छ ।
तितेपातीको सम्पूर्ण भागबाट तेल निकाल्न सकिन्छ, सबैभन्दा बढी पातबाट त्यसपछि डाठबाट तेल निस्किन्छ ।’ उनीसँग धेरै थरीका जडिबुटी प्रशोधन गरी तेल निकालेको अनुभव छ । चितवन बसेर २० वर्षदेखि जडिबुटी प्रशोधन गरी तेल निकाले गुरुङले आफ्नै गाउँ फर्किएर तीतेपाती प्रशोधन गर्न लागेका छन् ।
‘अहिलेसम्म आफूलाई मात्र काम गरें, अब सामाजिक रुपमा पनि काम गरौं भनेर आफ्नै जन्मस्थानमा कृषि समूह बनाएर सबैलाई समेटेर सस्टेनेवल एग्रिकल्चरको कामलाई अगाडी बढ़ाएको हुँ,’ उनले भने, ‘गाउँका धेरै मान्छे विदेश वा सहर पसेर गाउँका खेतबारीमा तितेपाती उम्रिएको छ । हामीलाई तितेपाती कहाँबाट जोहो गर्ने भन्ने चिन्ता पनि छैन ।’
प्रशोधन केन्द्रमा उपकरण जडान गर्ने कार्य भइरहेको छ । उपकरण जडानका गर्नुअघिस्थानीय परम्परागत चलन अनुसार पच्यु खेगी जगन प्रसाद गुरुङ्बाट “छ्योप धें“ पूजा समेत गरिएको कृषक समूहका सचिव पूर्ण गुरूङले बताए ।
तीतेपातीको तेलले पचासौं थरीका रोग निको पार्ने
तीतेपातीको तेलले चर्मरोग लगायतका विभिन्न पचासौं थरिका रोग निर्मूल पार्ने विज्ञहरु बताउँछन् । चोटपटक लागेर बगेको रगत बन्द गर्न, विभिन्न थेरापीमा प्रयोग गर्न, रुघाखोकी निराकरण, जीउको विभिन्न ठाउँको दुखाई कम गर्न, छालासम्बन्धी समस्या निराकरण गर्न, काखी गन्हाउने समस्याको समाधान, खोकी लाग्दा, शरीर दुख्दा, लुतो खटिरा आउँदा यसले निको हुन्छ ।
त्यस्तै, डण्डिफोरको निराकण, यौनांगमा देखा पर्ने छालासम्बन्धी समस्याको पनि हुन्छ उपचार गर्न सकिन्छ । तितेपातीको तेलमात्रै होइन पात नै पकाएर खाए पनि धेरै रोग निको हुने गर्दछ ।







सम्बन्धित खवर
















