
पोखरा भ्यूज
२९ भदौ, काठमाडौं । नेपाल सरकारले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट वितरण गर्दै आएको विभूषण यस वर्ष वितरण नगर्ने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विभूषणसम्बन्धी नयाँ मापदण्ड तयार गर्न यस वर्षको कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो ।
समाचार स्रोतका अनुसार विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने र हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
यसअघि गृहमन्त्रालयले साउन १५ गतेभित्र विभूषण पाउनेको नाम सिफारिस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । गृहको पत्राचार बमोजिमम जिल्ला जिल्लाबाट विभूषणका लागि नाम सिफारिस भएको गरिएको थियो ।
विभूषण शक्ति र पहुँचका आधारमा वितरण हुन थालेपछि केहीले बहिष्कार समेत गर्दै आएपछि विभूषणको गरिमा गिर्दै आएको थियो । यसअघि संविधान दिवसको दिनमा विभूषण पाउने व्यक्तिहरुको सूची गोरखापत्र दैनिका प्रकाशित गर्ने र नयाँ वर्ष अर्थात् बैशाख १ गते राष्ट्रपतिबाट पदक,विभूषण तथा अलंकार प्रदान गर्ने प्रचलन थियो ।












