43Shares
पोखरा भ्यूज
पोखरा, २९ कात्तिक : पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औं भाइटिका महोत्सवमा देशविदेशका ६८ जना पर्यटकले उत्साहप्रद रुपमा सहभागिता जनाएका छन् ।
होटल संघ पोखरा नेपालले आयोजना गरेको यो महोत्सवमा नेपालसहित १५ देशका पर्यटक सहभागि भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अमेरिका, अष्ट्रेलिया, इजरायल, वेलायत, जापान, डेनमार्क लगायत देशका पर्यटकले टिका लगाएका थिए ।
संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने नाराका साथ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यस्तो महोत्सव आयोजना गर्दै आएको छ । लेकसाइड स्थित होटल ल्याण्डमार्कमा यो  पटक महोत्सव भएको थियो । रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले पर्यटकलाई टिका लगाइदिएका थिए । टिका र माला लगाएपछि टोपी, सल र सेलरोटी लगायतका उपहार पर्यटकलाई प्रदान गरिएको थियो । छात्राहरुले महोत्सवमा देउसी भैलो गीत गाए अनि नाचगान देखाए । रमाइलो मान्दै पर्यटक पनि उनीहरुसँगै सहभागि भए ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुविच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्धेश्य पनि महोत्सवले लिएको उनले बताए ।
कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले पर्यटन पुनरुत्थानमा समेत महोत्सवले सघाउने विश्वास व्यक्त गरे । विदेशी पाहुनाहरुले उत्सुकतापूर्वक महोत्सवमा भाग लिएको र टिका लगाई नाचगानमा रमाएको महोत्सवका संयोजक एवं संघका सचिव पार्वता पाण्डेले जानकारी दिइन् ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र गोर्खा प्रिमियम वियरले महोत्सवलाई सघाएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।

43Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected