0Shares

पोखरा भ्यूज

पोखरा । पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफक्लवका अरुण ऐरीले लुम्विनीका ५ जनालाई पेभिलियन फर्काएपछि एपिएफ ८४ रनले विजयी भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रनमै समेटिएको हो । लुम्बिनीलाई समेट्न ४ ओभर बलिङ गरेका ऐरीले ७ रन दिंदै ५ विकेट हात पारे ।
लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोड्दा रोशन गुप्ताले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । एपिएफका भुवन कार्कीले २, अभिनास बोहरा र अमर रौतालाले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । लोकेश बमले विष्फोटक पारी खेल्दै १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन बनाउँदा एपिएफले सम्मानजनक स्कोर गरेको थियो । गण्डकी संग एक खेल गुमाएको एपिएफलाई सेमीफाइनल प्रवेशका लागि अनिवार्य जित निकाल्नु पर्ने दवावमा रहेको एपिएफका लागि कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पुरन विकले २३, सुमित महर्जनले १८ र अशिफ शेखले १३ रनको योगदान दिए ।
यता बलिङतर्फ लुम्बिनीका रमेश कुर्मी र अविषेक गौतमले समान २–२ विकेट लिए भने मोहमद हुसेनले १ विकेट हात पारे ।
समुह ‘बि’मा रहेको एपीएफ सेमिफाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ ।  एक–एक खेल जित्दै एपीएफ र गण्डकीको समान २–२ अंक छ । सेमिफाइनलको टुंगो आइतबार हुने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको खेलबाट लाग्नेछ । गण्डकीले जित निकालेको खण्डमा एपीएफ प्रतियोगिताबाट बाहिरिनेछ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार समुह बी अन्तर्गत गण्डकी र लुम्विनी तथा दोश्रो खेल समुह सि अन्तर्गत रहेको  विभागिय टिम नेपाल पुलिस क्लव र मधेश प्रदेशका विच हुनेछ ।
कर्णाली विजयी
दिपेन्द्र रावतको उत्कृष्ट प्रदर्शनमा पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि२० प्रतियोगितामा कर्णाली प्रदेशले जित निकालेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णाली ४ विकेटले जित निकालेको हो । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ विरुद्ध ११० रनको लक्ष्य पछ्याएको कर्णालीका लागि म्यान अफ दि म्याच समेत रहेका दिेपन्द्रले नट आउट रहँदै ३१ बलमा २ चौका र ३ छक्काको मद्धतले ४३ रनको इनिङ खेले । कर्णालीले १८।१ ओभरमा ६ विकेट गुमाउँदै १११ रन बनायो ।
टस जितेर इनिङको सुरुवात गरेको आयोजक रातोले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाउँदै १०९ रन बनायो । चार बल फेस गरेका आयोजकका कप्तान अमर मिश्र १ रन बनाउँदै अनुज चनाराको बलमा रविन्द्र शाहीको हातबाट क्याच आउट हुन पुगे । आयोजकका लागि निर्मल थापाले ३१ बलमा १७ रन, अंकित विएमले १८, निश्चल ज्ञवालीले १९, रोशन गौतमले २० बलमा ३० रन, सहजाद अलामले १६ रनको योगदान दिए ।
कर्णालीका लागि प्रकाश जैशीले २ विकेट हात पार्दा दिनेश अधिकारी र दिवान पुनले समान १–१विकेट लिए ।
यता जवाफी व्याटिङमा उत्रिएको कर्णालीका लागि दिपेन्द्र राउतले ४३, प्रकाश जैशीले १९ र निश्चल रावलले १५ रन बनाए । आयोजक रातोका लागि विप्राशन केसी र सन्तोष यादवले समान २–२ विकेट लिंदा सन्द्रश पराजुली र सुमित थापाले १–१ विकेट लिए ।
समुह ‘ए’मा रहेका दुवै टिम भने अन्तिम चारबाट बाहिरिएका छन् । सो समुहबाट बागमती लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरिसकेको छ । तस्विर : योगेन्द्र श्रेष्ठ 
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected