13Shares

पोखरा भ्यूज
पोखरा, पुस २ गते । भोलीदेखि सुरु हुने नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको छ ।
पुस ३ र ४ गते पोखरामा हुने सो सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कांग्रेस गण्डकी प्रदेशका सूचना, सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख रमेश पौडेलले बताए । सभापति देउवा भोलि बिहान १० बजे पोखरा आउनुहुने कार्यतालिका रहेको छ भने सम्मेलनको औपचारिक कार्यक्रम ११ः३० बजेबाट सुरु हुने पौडेलले जानकारी दिए । सम्मेलनमा पार्टी सभापति देउवा लगायत अन्य शिर्ष नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदेशका ११ वटा जिल्लाका करिब पाँच सय प्रतिनिधि सहभागी हुने सम्मेलनमा प्रतिनिधिहरु पोखरा आउने क्रम सुरु भएको प्रवत्ता मधु बास्तोलाले बताए ।
सहभागी प्रतिनिधिहरुलाई पोखराको लेकसाइडका विभिन्न होटलमा आवासको व्यवस्था मिलाइएको आवास व्यवस्थापन समितिका संयोजक अजित क्षेत्रीले जानकारी दिए ।
पुस ३ गते सम्मेलनको उद्घाटन शत्र पोखराको सभागृहमा हुनेछ भने ४ गते बन्द शत्र पोखरा पार्टी प्यालेस, बास्तोलाथरमा हुनेछ ।
सम्मेलनमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अवधारणा पत्र, महामन्त्री किरणबाबु श्रेष्ठले संगठन प्रतिवेदन र अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ साथै कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको आर्थिक प्रतिवेदन पनि प्रस्तुत हुनेछ ।
उक्त प्रतिवेदनहरु भोली बिहान बस्ने नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिले अनुमोदन गरेपछि औपचारिक रुपमा सम्मेलनमा लगिने महामन्त्री लामिछानेले जानकारी दिए ।
सम्मेलनले पार्टीलाई विधान बमोजिम सञ्चालन गर्न र जनतासँग जोडिने गरी नयाँ कार्यक्रम तय गर्न सहज हुने भन्दै पार्टीलाई सशक्त र गतिशिल बनाउन बल पुग्ने सभापति शर्माले बताए ।

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected