
पोखरा भ्यूज
पोखरा, ३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अझै बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेस अझै बलियो र एकताबद्ध बनाउन यस सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् । पार्टीलाई एक गराई आपसमा मेलमिलाप गराएर बहुमतको पार्टी बनाउन तर्फ लाग्न सबैलाई आग्रह गर्दै सभापति देउवाले सबैभन्दा ठूलो पार्टी बनाउन पनि अनुरोध गरे । भाषण भन्दा पनि काम गर्ने समय आएको छ, म कम बोल्ने र बढी काम गर्न खोजेको छु, हेरौं के हुन्छ देउवाले भने । 
सम्मेलनमा वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकमा भ्रष्टचार र बेतिथि बढ़ेको छ, त्यस्को अन्त हुनु पर्ने बताए । कोइरालाले प्रधानमन्त्रीले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड मागेका छन् कांग्रेसले प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्नुपर्ने बताए । उनले मैले पनि एउटा गुटको नेतृत्व गर्छु तर पनि गुटका कारण कांग्रेस कमजोर बन्न नहुनेमा जोड दिए ।
उपसभापति एवं क़ानुन मन्त्री धनराज गुरूङले हिउँदे अधिवेशन नकुरी अध्यादेश मार्फ़त भएपनि राज्य संचालनका महत्वपूर्ण क़ानुन ल्याउने बताए । मन्त्री गुरुङले आवश्यक कानून सबै बनाउन सम्बन्धित मन्त्रालय तयार नभएको पनि बताए ।
महामन्त्री गगनकुमार थापाले ०८४ आउँछ, जान्छ त्यसमा कुनै चिन्ता नभएको भन्दै जनतालाई निराशाबाट मुक्त गर्नु पर्ने धारणा राख्दै कांग्रेस हारे हार्छ आउँने चुनावमा कांग्रेस कार्यकर्ताले रुख बाहेक अन्यत्र मत हाल्न नपर्ने विश्वास दिलाए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले मिसन ०८४ को कुरा गर्नेलाई शुभकामना दिँदै कांग्रेस मिसन ०८४ मा नरही कांग्रेसलाई गतिशील र बलियो बनाउनलाई प्राथमिकतामा राखेको बताए । उनले हरेक समय चुनावको चिन्ता गर्ने नभई देशको चिन्ता गरी अघि बढ्नुपर्ने बताए । सहमहामन्त्री जिवन परियारले कांग्रेसले आफुले गरेका कार्यको प्रचार गर्न सकेको छैन, विपक्षीले नगरेको कामलाई पनि आफुले गरेको भन्दै प्रचार गरेको बताए । 
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संघिय सरकारले आवश्यक क़ानुन नबनाउदा प्रदेशलाई काम गर्न अप्ठारो परेको बताए ।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेल, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, केन्द्रीय सदस्य विनोद चौधरी, दीपक गिरी, डा. डीला पन्त संग्रौला, लुम्विनी प्रदेश सभापति अमर पुन, सुदूर पश्चिम प्रदेशका सभापति बीरबहादुर बलायर, कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्व मन्त्री एवं मुस्ताङका सभापति रोमी गौचन, नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापतिद्वय कल्पना तिवारी, मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ, नेपाल प्रेस युनियनका अध्यक्ष शिब लम्साल लगायतले बोलेका थिए ।
कांग्रेसका गण्डकी प्रदेश महामन्त्री बिष्णुप्रसाद लामिछानेले प्रदेशका ३६ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापती, क्षेत्रीय सभापती, जिल्ला सभापती, भातृ तथा शुभेच्छक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको सम्मेलनमा सहभागिता रहेको छ ।
प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्ने गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले बताए । सम्मेलनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश हुनेछ । ती प्रतिवेदनमाथि गम्भिर छलफल गरी पार्टीको आगामी कार्य दिशा तय गर्न सुझाव सहितको निचोड निकाल्ने पनि सभापति शर्माले बताए ।











