0Shares

पोखरा भ्यूज
२२ माघ, पोखरा । पोखराको सूर्यदर्शन सहकारीका पीठित बचतकर्ताहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पुरक जाहेरी दिएका छन् ।

सहकारी पीडितहरुले दिएको पुरक जाहेरीमा रास्वपा सभापति लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालि समेतलाई प्रतिवादी बनाएका छन् ।

यसअघि पीडित बचतकर्ताहरुले दिएको पुरक जाहेरी नमिलेको भन्दै कास्की प्रहरीले जाहेरी निलएको समाचार विभिन्न सञ्चार माध्यमबाट प्रकाशित प्रसारित भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले सहकारी पीडित पक्षले ‘पूरक’ जाहेरी दिएको पुष्टि गरेका छन् । कुनै वारदातका विषयमा जाहेरी दर्ता भई मुद्दा चले पनि थप अनुसन्धान गर्न आवश्यक देखिए पुनः पुरक जाहेरी दर्ता गराउने सकिने व्यवस्था मुलुकी फौजदार संहिता २०७४ ले व्यवस्था गरेको छ ।

सहकारीका बचतकर्ताको रकम अपचल गरेको अभियोग लागेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र आइटी अफिसर भगिश्वर अर्याल हाल कास्की जिल्ला अदालतको ओदशले पुर्पक्षका लागि थुनामा रहेका छन् भने अध्यक्ष जीवी राई समेत १५ आरोपी फरार सूचीमा छन् ।

उनीहरुमाथि बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको अभियोग छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected