
पोखरा । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)ले दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ सिरुवारीमा “गाउँ पर्यटन प्रवद्र्धनका लागि समुदायको सहभागिता” विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।
पर्यटन व्यवसायी, सञ्चारकर्मी सहित बुधबार सिरुवारी पुगेको टोलीले विहिबार आँधिखोला गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, स्थानीयवासीसँग अन्तरक्रिया गरिएको ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिईन् । पर्यटन व्यवसायमा लागेका महिलाको क्षमता अभिबृद्धिसँगै विभिन्न पर्यटकीय गाउँमा वार्षिक रुपमा नै प्रवद्र्धनात्मक कार्यक्रमहरू गर्दै आइएको उनले बताईन् ।
अन्तरक्रिया कार्यक्रममा आँधिखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले पर्यटन राजधानी घोषणा भएको पोखराको पर्यटनलाई सिमित दायारामा नराखी आसपासका पर्यटकीय गन्तव्यलाई समेट्नुपर्ने बताए । पछिल्ला समयमा गाउँबाट बजार, बजारबाट विदेश पलायन हुने क्रम बढीरहेको बताउँदै उनले त्यसलाई रोक्ने किसिमका कार्यक्रम ल्याउनु पर्ने आवश्यकता औंल्याए । गाउँ पर्यटनको विकासका लागि स्थानीय मौलिक संस्कृतिको जगेर्नासँगै उत्पादनमा जोड दिनु आवश्यक भएको उनको भनाइ छ ।
आँधिखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पवनकाजी अधिकारीले नेपालमै घरवास(होमस्टे) पर्यटनको सुरुवात भएको सिरुवारीको मौलिकता कायम गर्दै जानुपर्नेमा जोड दिए । पछिल्ला समयमा ग्रामिण वस्तीहरू खाली हुँदै जाने राष्ट्रिय समस्या यहाँ पनि रहेको उल्लेख गर्दै उनले बढ्दो मानव पलायनलाई रोक्ने विषय आँफूहरूको प्राथमिकतामा रहेको बताए ।
होमस्टेको प्रवद्र्धनसँगै पिकनिकस्पोट, सडक लगायतका आवश्यक पर्यटकीय पूर्वाधारलाई जोड दिइएको बताउँदै उहाँले ओटेफले सिरुवारीमा पर्यटन प्रवद्र्धन लक्षित कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।
सिरुवारी सामुदायिक होमस्टेका अध्यक्ष मोहनबहादुर गुरुङ(जितेन्द्र) ले ओटेफले प्राथमिकताका साथ सिरुवारीलाई कार्यक्रममा समेटेकोमा धन्यवाद व्यक्त गरे । सबैको साथ र सहयोगले सिरुवारी गाउँ पर्यटनको गन्तव्य बनेको बताउँदै उनले यसको मौलिकतालाई जोगाउने विषयलाई आँफूहरूले सँधै आत्मसात गर्ने धारणा राखे ।
महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ) का अध्यक्ष उमा रेग्मीको अध्यक्षता एवम् सचिव सर्मिला न्यौपानेद्वारा सञ्चालित कार्यक्रममा संस्थापक अध्यक्ष जमुना पराजुली, कार्यक्रम संयोजक मञ्जु भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवम् ओटेफका सल्लाहकार जमुना वर्षा शर्मा, राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल लगायतले घरवास पर्यटनको नमुना गाउँ सिरुवारीले आगामी दिनमा पनि यसको गरिमा र महत्वलाई जोगाउने गरी अघि बढ्नु जरुरी रहेको बताएका थिए ।







सम्बन्धित खवर
















