11Shares

पोखरा, १ जेठ । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३२ स्थित लामेआहाल, कालिका नगर र मजुवा बीचको रमणीय डाँडा झट्ट हेर्दा ठ्याक्कै हेल्मेट जस्तो छ । जंगलै जंगलले ढपक्क ढाकिएको हेल्मेट जस्तै भएकोले यसलाई हेल्मेट डाँडाका रुपमा लिइन्छ ।
डाँडाको प्राकृतिक सुन्दरतासँगै विभिन्न पर्यटकीय पूर्वाधार विकास गरी स्थानीयले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच अघि बढाएका छन् । पोखरा पर्यटनको राजधानी भैसकेका अवस्थामा आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढाउँदै पर्यटकको बसाई लम्ब्याउने विषयले चासो र चर्चा पाइरहेका अवस्थामा हेल्मेट डाँडाको पर्यटकीय विकासको योजनालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रकृतिको बरदान हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकिएको स्थानीय समाजसेवी एवम् प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताए । समितिको अनुरोधमा पोखरा विश्वविद्यालयका प्रा.डा.गोविन्दप्रसाद लामछानेको सहयोगमा डिपिआर तयार गरिएको उनले जानकारी दिए ।
“हेल्मेट डाँडासँगै यहाँ नजिकैको कालिका मन्दिर, स्यान्थुम्की समेतलाई समेटेर हामीले पर्यटकीय पूर्वाधार विकास गर्ने योजना राखेका छौं”, उनले भने, “लक्षित सबै पूर्वाधार विकासका योजना सम्पन्न गर्न २० करोड ५९ लाख ८५ हजार ४६८ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।”
उनका अनुसार हेल्मेट डाँडाको शिरमा बुद्ध मूर्ति निर्माण गर्नका लागि आठ तल्ला उचाईको टावर स्वरुपमा संरचना निर्माण गरिने छ । सबै भन्दा माथि ७५ फिट उचाईको बुद्धको मूर्ति रहने छ । उक्त मूर्ति प्रत्येक पाँच मिनेट समयावधिमा ३६० डिग्रीमा घुम्ने प्रा.डा.गोविन्दप्रसाद लामिछानेले जानकारी दिए । बुद्ध मूर्तिको तल ३५ मिटरको उचाईमा आठ तल्लाको संरचना रहने छ । उक्त संरचना निर्माण हुने भएका कारण वरपरका कुनै पनि रुख काट्नुनपर्ने लामछानेको भनाइ छ ।
टावरको आठौं तल्लामा पानी ट्याङ्की रहने र भूँइ तल्लामा टिकट काउन्टरको व्यवस्था गरिने छ । बीचका छ वटा तल्ला व्यापारिक प्रयोजन हुने गरी निर्माण गरिने अध्यक्ष पौडेलले जानकारी दिए । टावरको स्वरुपमा रहे पनि त्यसलाई आकर्षक बनाउने गरी योजना गरिएको छ ।
उत्तरतर्फ पृथ्वी राजमार्गको भागतर्फ टावरसँगै स्काइ स्वीमिङ पुल निर्माण गर्ने योजना छ । सिसै सिसाको उक्त स्वीमिङ पुल कुनै टेको बिना नै हावामा अडिएको जस्तो गरी निर्माण गरिने उनले बताए ।
त्यस्तै हेल्मेट डाँडाबाट नजिकैको कालिका मन्दिरसम्म ३५० मिटर दुरीको जिपलाइन निर्माण गरिने छ भने कालिका मन्दिरबाट स्यान्थुम्कीसम्म ५५ मिटर लम्बाईको रोप साइक्लिङ निर्माण गरिने छ । कालिका मन्दिर र स्यान्थुम्कीलाई घुम्ने गरी चिल्ड्रेन ट्रेल समेत निर्माण गरिने पौडेलले जानकारी दिए ।
उनका अनुसार हेल्मेट डाँडाको फेदीबाट छ फिट चौडाईको तीन हजार ३०० मिटरको पदयात्रा मार्ग निर्माण गरिने तयारी गरिएकोमा यस आर्थिक वर्षमा पोखरा महानगरपालिाको २५ लाख रुपैयाँको सहयोगमा पदयात्रा मार्ग निर्माणका लागि टेन्डर प्रक्रियामा अघि बढेको छ ।
हेल्मेट डाँडासँग नजिकै रहेको कालिका मन्दिर यस क्षेत्रको एक सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी पनि हो । कालिका नगरस्थित यो धार्मिक पर्यटकीय तीर्थस्थल यहाँका कालिका चोक, म्याग्दी टोल, टाँडी, तल्लो गगनगौँडा, बेलबुटे, स्कुल टोल लामेआहाललगायत आसपासका क्षेत्रको आस्था र विश्वासको केन्द्र रहेको यहाँका स्थानीयवासी बताउँछन् ।
मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा चासो र चर्चा कमाएको यो स्थलसँगै हेल्मेट डाँडा, स्यान्थुम्कीलाई समेटेर गर्न लागिएको पर्यटकीय विकासले पोखरामा पर्यटकको बसाई थप एक दिन लम्ब्याउन सकिने सरोकारवालाहरू बताउँछन् ।
कालिका मन्दिरको निर्माणसँगै मन्दिर परिसरको केही तल व्यामशाला बनाउने लगायतका सोच अघि सारिएको सोच राखिएको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।
“यही कालिका मन्दिर परिसरमा नै गर्ग ऋषिले तपस्या गर्नुभएको विश्वास छ”, उनले भने, “यहाँका धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै धामिर्क पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रको विकास गर्ने हाम्रो लक्ष्य हो ।
कालिका मन्दिर यहाँको प्राचीनकालदेखि पूजाआजा गरिदै आइएको तीर्थस्थल हो । बढ्दो बस्ती विकाससँगै वि.सं.१९८० मा समाजसेवी स्व.भीमबहादुर बस्नेत र स्व.जीतबहादुर बस्नेतको सक्रियतामा स्थानीयवासीको सुख, शान्ति र समृद्धिको कामनासहित कालिका मन्दिरको स्थापना भएको र त्यसलाई थप व्यवस्थित मुखिया चन्द्रबहादुर बस्नेतले गर्नुभएको यहाँका जानकारहरू बताउँछन् । यस मन्दिरलाई स्थापना यता समाजका हरेक व्यक्ति, सङ्घसंस्था एवम् समूहको साझा प्रयासमा व्यवस्थित गर्दै महत्वपूणर् तीर्थस्थलका रूपमा विकास गर्दै आइएको छ ।
कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विमला थापाका अनुसार समयसापेक्षता यहाँस्थित पुरानो मन्दिरको स्थानमा व्यवस्थित नयाँ मन्दिर बनाउनुपर्ने आवश्यकता महसुस गरी पोखरा महानगरपालिका वडा नम्बर ३२ बाट १५ लाख विनियोजन भएर काम सुरु गरिएको छ ।
वडाबाट प्राप्त उक्त रकमले मात्रै हाम्रो योजनाअनुसार मन्दिर बन्न नक्ने उल्लेख गर्दै निर्माण समितिका अध्यक्षसमेत रहेकी उनले यसका लागि करिब २८ देखि ३० लाखसम्म खर्च लाग्नसक्ने अनुमान गरिएको जानकारी दिईन् । निर्माणाधिन मन्दिरमा वडास्थित आमासमूह, टोल सुधार संस्था, स्थानीय बुद्धिजीवी सबैको जनश्रमदानसमेत गरी निर्माण कार्यलाई अघि बढाइएको छ ।
मन्दिर निर्माणका लागि वडा कार्यालयले १५ लाख विनियोजन गरेसँगै जनसहभागितास्वरुप एक लाख ७७ हजार जम्मा गरेर योजना सम्झौता भई काम अघि बढेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष एवम् निर्माण समितिका कोषाध्यक्ष खमबहादुर पुनले जानकारी दिए ।
उनका अनुसार १६ वर्ग स्क्वायर फुटको परिसरभित्र तीनतलाको मन्दिर निर्माण गर्न लागिएको हो । जसअन्तर्गत ११ स्क्वायर फुटमा पहिलो तला बन्नेछ । यसको उचाइ नौ फुटको हुनेछ । दोस्रोतला सात वर्ग स्क्वायर फुटमा छ फुट उचाइको हुनेछ भने तेस्रो तला चार वर्ग स्क्वायर फुटसहित चार फुट उचाइमा हुनेछ । मन्दिरमा भक्तपुरका कालीगढले बनाएका कलात्मक झ्यालढोका राखिने उनले बताए । मन्दिरमा भक्तपुरे कालीगढले बनाएको एक ढोकासहित १० वटा आँखी झ्याल राखिनेछ । जसअन्तर्गत पहिलोतलामा ढोका र दुई वटा झ्याल रहने छन् । दोस्रो र तेस्रोतलामा चार-चार वटा झ्याल रहनेछन् ।
अगामी वर्ष वडा कार्यालय र महानगरपालिकाको सहयोगमा तेस्रो तल्लामा कालिका देवीको मूर्ति कुँदिएका कलात्मक टुँडालका साथै पित्तलको छाना राख्ने योजना रहेको जानकारी दिए । पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको रमणीय थुम्कोमा रहेका कारण पोखराको विन्दवासिनी, भद्रकाली, पृथ्वी राजमार्गमा पर्ने अकला मन्दिर जस्तै यो स्थल धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्ने विश्वास लिइएको छ । —

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected