
ई.धुर्व पोखरेल
आङभरी लुतो बोकेर
हमेसा कनाइरहने
उकेरा लाग्न नसकेको यो लोसे बिज्ञान
औघडको बाहूमा पर्यो।
बिज्ञानले भुईँ नछोड्दा परित्यक्त रूढी पनि
खिस्स हाँसिरहेको छ।
पुर्खाको बिगत अमिलो बनाएको रुढी
पु: न : अल्पी तरँगका निस्सार ताना बोकेर
घर – घरमा फेरी लाँउदैछ।
र भट्टाएको छ
तिनै मेटामोर्फोसिस हुन नसकेका
अबशेषहरुको अब गोताखोरी गरौँ भनेर।
हुकुमसिँह को अनुचर खवासलाल
पर बेलगाम बगिरहेको कालीगँगा देखाँउदै
“आजकल यो कालीले धेरै फोहोर बोक्न थालेको छ,
यो उँधो होईन , उँभै बग्नुपर्छ “भन्छ।
यस्तो कसैले नपत्याउने कुरा पनि
मेरै आँगनबाट जोड – तोडले चिच्याउँछ।
उसका आफन्तहरु चर्को घामले डढेर आँउदा
पोहोर पनि त यो खवास लालले
अब देखुन बिस्कुन
घाममा होईन झरी पर्दा सुकाउनुपर्छ भन्दै
मेरा छिमेकी भड्काएको थियो।
चैते हुरीले जस्ताको धुरी उढाँउदा
खरबारीको साहू ” मैले चिनेको छु ” भन्दै
पटक – पटक मलाई खरको छानो
हाल्न सुझाएको थियो।
आसे खवास,
हुरीले आफ्नै साथीको निवासमा बिनाश
ल्याँउदा पनि झिलिमिलि आस बोकेर हिँड्छ।
हुरीमा उसको चुरीफुरी , मलाई पनि
फिटिक्कै मन परेको थिएन।
उटपटाँग को पनि सिमा हुन्छ नी!
गाँउमा कलिला केटाकेटी जम्मा गरेर
खवासलाल धातु लाई अधातु भन्न सिकाँउछ।
पिठोलाई सातु भन्न सिकाँउछ।
बदमाश खवासलाल !!!
म र मेरी जाहानको ख्याल नपुग्दा
मैलो र उध्रिएको बस्त्र लगाईरहेका मेरा बचेरालाई
मैलो छुपाउन उल्टो लगाउनु पो भन्छ।
अजिब लाग्छ खवासलालको तरफदारी
उस्तै – उस्तै लाग्छ की कहिलेकाँही
उसको मस्तिष्कले
अचम्मको तुलो बोकेको छ |
चल्ती बिधानको बाटो बटारिएको छ।
यदि होइन भने हटाउनुपर्नेछ
मैँले मेरै आँखाबाट धुँवाको तुवाँलो ।
कहिलेकाँही म गम खाने गर्छु।
इखले भरिएको यो होपापापी
दौडमा किन एन्टीलाईट ठिङ्ग
उभिन चाहन्छ खवासलाल ?
किन एन्टीकरेन्ट सँग खवासलाल बेस्मारी
अर्थोडक्स लभ गरिरहन्छ ?
प्रिय बालसखा खवासलाल !
हो तिमिले भन्न सक्छौ,
र तिमिले भनिरहन पनि सक्छौ।
उधार्नेहरुले नै सुधार्ने इत्ति पनि ठाँउ
बाँकी राखेनन् भनेर !
तर पनि त जसरी
उध्रिनुको असर सुल्टो बस्त्रमा देखिन्छ
त्यसै गरि त्यो पहिल्यै लगाएको
उल्टो बस्त्रमा पनि त देखिन्छ।
त्यसैले सबै कुरा उल्टाँउदैमा ठिक हुन्छ भनेर
जिद्दी नगर ल !!!











