
टंकराज अधिकारी । रोटरी क्लब अफ पोखरा न्यूरोडको १५औं पदस्थापन समारोह सम्पन्न भएको छ । बुधवार पोखरामा आयोजित एक समारोहका विच बर्ष २०२४/२५ का अध्यक्ष दिपेन्द्र शर्मा लगाएत क्लब पदाधिकारीलाई पदस्थापन गराईएको हो ।कार्यक्रमका संयोजक एवं क्लबका प्रेसिडेन्ट इलेक्ट दिनबन्धु गौतमका अनुसार पदस्थापन अधिकृत एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर ईलेक्ट बिनोद कोईरालाले क्लब अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापित गराएका थिए ।
पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष रामबिक्रम अधिकारी, संस्थापक अध्यक्ष रविराज बराल लगाएत पूर्व अध्यक्षहरूले बर्ष २०२४/२५ अध्यक्ष दिपेन्द्र शर्मालाई रोटरी ग्राभेल तथा ह्याम्मर क्लबको चार्टर सर्टिफिकेट हस्तान्तरण गर्दै पदस्थापन गराएका थिए ।
पदस्थापनसँगै क्लब अध्यक्ष शर्मालाई पदस्थापन अधिकृत एवं डिष्ट्रिक्ट गभर्नर ईलेक़्ट कोईरालाले शपथ गराएका थिए भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष शर्माले नै शपथ गराएका थिए ।
शपथ ग्रहणपछि अध्यक्ष शर्माले आफूलाई थप जिम्मेवारी महसुस भएको बताउदै क्लबले गरेका कार्यलाई निरन्तरता दिँदै चुनौतीका बिचबाट अवसरको पहिचान गरी क्लबमा एउटा ईटा भए पनि थप गर्ने प्रतिबद्वता ब्यक्त गरे । उनले क्लबको इतिहास, अग्रजले सिकाएको पाठ र अगाडिका योजनाहरुलाई आत्मसाथ गर्दै क्लबको प्रतिष्ठासँगै सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै यस कार्यकाललाई स्वर्णिम कार्यकाल बनाउने प्रयासमा रहने प्रतिबद्वता व्यक्त गरे ।
प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर ईलेक्ट बिनोद कोईरालाले नेपालमा रोटरीको आवश्यकता र महत्व बढ्दै गएको बताए । ‘रोटरीयन थप जिम्मेवार भएर अघि बढ्नु पर्छ, रोटरीयन सधैं समाजका सारथी हुन्, अहिले विश्वमा देखिएको संकटले रोटरीलाई थप जिम्मेवार बनाएको कोईरालाले बताए । विश्व कोभिड महामारी पछिको आर्थिक मन्दी र विश्वका केही भागहरूमा हातहतियार द्वन्द्वको कारणले गर्दा विश्व एक सम्बेदनपूर्ण क्षणमा छ, मानवीय र विकासका आवश्यकताहरू सम्बोधन गर्न संसारले रोटरीयनबाट आशा गरिरहेको अवस्थामा सामाजिक क्रियाकलापलाई तिव्रता दिनका लागि रोटरीयनहरू सक्रिय भएर लाग्न आह्वान गरेका थिए ।

पूर्व डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले रोटरी क्लब समुदायका बीच सहकार्य गर्दै सेवामा जुट्ने संस्था भएकोले हरेक रोटरी क्लब पारदर्शिता, मित्रभाव र अनुशासित हुनुपर्ने कुरामा जोड दिए । रोटरी क्लबले देशभरि राम्रो काम गरेको भए पनि त्यसले प्रचार नपाएकोमा चिन्तित बनेको बताउदै श्रेष्ठले भने, ‘राम्रो कामले नै क्लबको इमेज दिने हुँदा कामसँगसँगै प्रचारको पनि आवश्यकता पर्छ ।’ उनले भने, ‘एक समय थियो, काम गर्ने तर प्रचार नगर्ने । अब समय बदलिएको छ । हरेक मानिस सूचना सञ्जालमा जोडिएका छन् । त्यसैले रोटरीको इमेजलाई पब्लिकको बीच पुर्र्याउनु पनि रोटरीको कर्तव्य बन्दै आएको छ ।’

कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लबले समाज रूपान्तरणमा अतुलनीय कार्य गरेको बताए । हामीसँग स्रोत पर्याप्त छ तर सोचको अभाव छ, सोचलाई परिवर्तन गरी सामाजिक कार्यमा लगाउनु पर्नेमा जोड दिए ।
क्लबका अध्यक्ष दिपेन्द्र शर्माको अध्यक्षता सचिव नरेन्द्र बास्तोलाको संचालन रहेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं• ७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा उधोग वाणिज्य संघका अध्यक्ष पवनप्रजापति, रोटरी डिष्ट्रिक्टका जीएसआर क्या. भुवनसिं गुरूङ, रोटरी क्लब पोखरा न्यूरोडका संस्थापक अध्यक्ष रविराज बराल, पूर्व अध्यक्षद्वय सुवास सिग्देल, पुष्प कमल पौडेल, रोटरी क्लब अफ काठमांडौं नक्साल शक्तिका संस्थापक अध्यक्ष डा, लुना अर्याल, रोटरी क्लब दमौलीका अध्यक्ष जिवन श्रेष्ठ, ईनरह्वील क्लब न्यूरोडका निवर्तमान अध्यक्ष मिना शर्मा, क्लबका प्रेसिडेन्ट इलेक्ट दिनबन्धु गौतम, नोमीनी प्रेसिडेन्ट अमृतप्रसाद बास्तोला लगाएतले बोलेका थिए ।

पदस्थापन समारोहमा गण्डकी मेडिकल कलेजका संचालक डा. लुना अर्यालले रोटरी क्लब अफ पोखरा न्यूरोडसँगको सहकार्यमा एक हजार जना महिलाको लागि पाठेघरको मुखको क्यान्सरको निशुल्क स्क्रीनिंग टेस्ट(पेप स्मियर परीक्षण) गरिने बताईन् ।
रोटरी डिष्ट्रिक्ट गभर्नर राजेन्द्र मान श्रेष्ठले रोटरी बर्ष २०२४/२५ मा एक लाख बिरुवा रोप्ने अभियान अन्तर्गत पदस्थापन समारोहमा उपस्थित सम्पूर्णलाई क्लबका अध्यक्ष दिपेन्द्र शर्मा र निवर्तमान अध्यक्ष रामबिक्रम अधिकारीले कागतीको विरुवा प्रदान गरेका थिए ।











