
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताए । शनिबार कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले आयोजना गरेको स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले बताएका हुन् । उनले भने,
“गण्डकी सरकारले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन ।”
प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको र अब छिट्टै नै शुन्यमा झार्ने प्रयास भइरहेको तथ्याङ्क उनले उल्लेख गरे । मन्त्री थापाले निशुल्क डायलसिस सेवा प्रवाहले पैसाको अभावमा उपचार नपाएर वञ्चित भएका नागरिक लाभन्वित भएको बताए ।
स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकार संवेदनशील भएको उनले बताए । नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै आवश्यक बजेट विनियोजन समेत गरिएको उनको भनाई छ । प्रदेश सरकारले सुत्केरी महिलाहरुको लागि एयरलिफ्टिङ सेवाको व्यवस्था समेत निशुल्क गरिएको जसले गर्दा ग्रामीण भेगका दुरदराजमा रहेका महिलाहरुलाई तत्काल सेवा प्रवाह गर्न सहज भएको उनले बताए ।
स्वास्थ्य बीमामा सोचेजस्तो प्रगति हुन नसकेता पनि यसको व्यवस्थापनमा लागेको थापाले बताए । योगा, ध्यानमा बजेट विनियोजन गरि सकेसम्म रोग लाग्नै नदिने वातावरण सिर्जनामा प्रदेश सरकार प्रतिबद्ध रहेको उनले भने ।
नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले स्वास्थ्यमा जनचेतनाको आवश्यकता रहेको बताए । नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नागरिकको स्वास्थ्यको उपचारको बारेमा सरकारले सोच्नुपर्ने बेला आएको बताए । सर्ने रोग सँगसँगै नसर्ने रोगको नियन्त्रणमा समेत लगानी गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए ।
डा.अभिषेक मास्केले सुगर र उच्च रक्तचापका कारण मृगौलामा समस्या पर्ने उल्लेख गर्दै प्रत्येक ६ महिना वा वर्षदिनमा मृगौलाको जाँच गर्नुपर्ने बताए । प्रायः बिरामी मृगौला बिग्रेपछि मात्रै उपचारका लागि आउने गरेको उनले उल्लेख गरे । मोटोपना, रक्सी, चुरोट र सुर्तीजन्य पदार्थको सेवन गर्नाले मृगौला रोग लाग्ने भनाई राख्दै मृगौला रोग लाग्न नदिन जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा पोखरा १४ परिवर्तन टोल सुकुम्बासी बस्ती बस्ने वर्ष ३२ की मृगौला पीडित लक्ष्मी विश्वकर्मालाई एक लाख रुपैयाँ नगद सहयोग गरिएको छ । चन्द्र कृष्ण कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कर्माचार्य समाजका केन्द्रीय अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, भीरकोट नगरपालिका स्याङजाका प्रमुख गोविन्द कुमार बसन्त कर्माचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा ११ का अध्यक्ष प्रेम कर्माचार्य, पुरस्कार दाता दिवंगत लक्ष्मीसुन्दरी कर्माचार्यका छोरा माइकल कर्माचार्यले लगायतले बोलेका थिए ।







सम्बन्धित खवर















