
पोखरा । शुक्रबादेखि सुरु भएको वर्षाका कारण आएको बाढी पहिरोबाट गण्डकी प्रदेशका विभिन्न स्थानमा पहिरो जाँदा मुख्य राजमार्गहरु अवरोध भएका छन् । गण्डकी प्रदेश भित्रिने नाकाहरु स्याङजाको रामदी, नवलपुरको त्रिवेणी, दाउन्ने, गैडाकोट, तनहूँको मुग्लिङ, गोरखाको आरुघाट र बेनीघाट, मुस्ताङको कोरला लगायत नाकाअन्तरगत पर्ने विभिन्न राजमार्गमा पहिरोले सडक अवरोध गरेको हो ।
सिदार्थ राजमार्ग अन्तरगत स्याङजाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । वालिङ ६, वालिङ १० मोदिखोला, पुतलीबजार नगरपालिका १० सुम्रे खोला र भिरकोट नपा-१ छाङछाङदे, गल्याङ ८ चिउरी, गल्याङ ११ मुडकिल्ला लगायतको स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । उक्त सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्ग अन्तरगत तनहुँका विभिन्न स्थानमा समेत पहिरो खस्दा सडक अवरुद्ध भएको छ । तनहुँको म्याग्दे-६ मौरीबजार, शुक्लागण्डकी नगरपालिका ७ शेराटारमा (कलबट बगाएको) पहिरोको कारण सडक अवरोध भएको हो ।
म्याग्दी रघुगंगा गा.पा.-२ बैसोरी स्थित बेनि जोमसोम सडक खण्डमा अबिरल बर्षापछि आएको पहिरोको कारण बाटो पुणर् रुपमा अवरोध भएको छ । उक्त सडक खुल्न सकेको छैन् । म्याग्दीकै बेनी नगरपालिका-१ रत्नेचौरमा बाटो पूर्ण रुपमा अवरोध भएको छ ।
मनाङको चामे गाउँपालिका १ तिवाङस्ति वेशिसहर चामे मनाङ सडक खण्डमा काठको पुल बगाउँदा बाटो पुणर् रुपमा अवरोध भएको छ । उक्त बाटो १९ गतेदेखी अवरोध भएको हो । बाटो कहिले खुल्छ भन्ने यकिन छैन् । बागलुङ गल्कोट नपा-११ काउसे स्थित मध्य पहाडी लोकमार्गमा बाटो अबरोध भएको छ । नवलपरासी पूर्वतर्फ गैडाकोट नगरपालिका ३ तरंखोलामा रहेको डाइभर्सन बगाउँदा कालिगण्डकी करिडोर सडक खण्ड (गैडाकोट, पाल्पा) को बाटो पूणर् रुपमा अवरोध भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीका इन्पेक्टर आनन्द गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हाल राजमार्गका विभिन्न स्थानमा एकतर्फी सडक सञ्चालनमा आइरहेका छन् भने अवरुद्ध भएका ठाउँमा खुलाउने प्रयास भइरहेका छन् । सडक अवरोधसँगै कतिपय स्थानमा पहिरोको कारण जनधनको क्षती समेत भएको छ भने नदीमा पानीको वहाव बढ्दा जोखिम समेत बढीरहेको छ ।











